© २०२३
एसिया कप अन्तर्गत सोमबार नेपाल र भारतबीच भएको क्रिकेट खेलमा नेपालले अपेक्षाकृत राम्रो प्रदर्शन गरेको छ । धेरै खेलप्रेमी र प्रशंसकले नेपालले यति राम्रो प्रदर्शन गर्छ भन्ने अपेक्षा समेत गरेका थिएनन् । नेपालले भारतबिरूद्ध २३० रनको योगफल तयार गर्नु सामान्य कुरा थिएन ।
पहिलोपटक एसिया कप खेलमा नेपालले जस्तो प्रदर्शन गरेको छ, त्यसले नेपाली क्रिकेट खेलाडीले राम्रो अवसर र बाताबरण पाउने हो भने एकदिन नेपाल क्रिकेटको महारथी बन्ने संभावनालाई अस्वीकार गर्न सकिदैन् । भारतजस्तो बिशाल र त्यसमाथि अवसरै अवसरले झुम्मिएका खेलाडीको अगाडि राम्रो स्टेडियममा खेल्न र अभ्यास गर्न समेत नपाएका नेपाली खेलाडीले लगभग समान स्तरको प्रदर्शन गर्नुले नेपालीको छाती गर्बले फुलेको छ । भलै नेपाल १० बिकेटले पराजित भएको छ तर ५० ओभरको खेलमा ४८ ओभरसम्म मैदानमा टिकिरहनु नेपालको गर्बिलो प्रदर्शन हो । तसर्थ भन्न सकिन्छ– हारपनि जीत हो । नेपाल हारेको छ तरपनि जितेको छ । यो हारलाई हारभन्न सकिदैन् । नेपाली क्रिकेटले पनि जितेको छ । विश्वको महाशक्ति टिम भारतविरुद्धको पहिलो खेलमा नै साहसिक ब्याटिङ प्रदर्शन गरेर विश्व क्रिकेटमा नेपालले आफ्नो शीर उच्च पारेको छ । एसिया कपको पहिलो खेलमा पाकिस्तानविरुद्ध कमजोर ब्याटिङ गरेको नेपाल अर्को विश्वस्तरीय बलिङ आक्रमणमा धराशायी हुने आशंका धेरैको थियो तर नेपाली ब्याट्सम्यानहरूले भारतको तेज र स्पिन बलिङ आक्रमणमा प्रशंसालायक ब्याटिङ गरे । कुशल भुर्तेल त्यतिछिटो आउट नभएको भए भारतका लागि नेपाली टिम कडा चुनौति बन्न सक्ने देखियो । अवका दिनमा नेपाली क्रिकेट टिम दह्रो आत्मविश्वासका साथ खेल्न सक्यो भने क्रिकेटले नेपालको नाम रोशन गर्ने आधार नेपाली खेलाडीले तयार गरिदिएका छन् ।
नेपाली क्रिकेटप्रेमी तथा खेलाडीमाझ नेपाली क्रिकेटले आशा, खुसी र हर्ष ल्याएको छ । नेपाल भारत क्रिकेट खेलले सम्पूर्ण नेपालीमा खुसीको सञ्चार गरिदिएको छ । नेपालको प्रतिस्पर्धी तुलनात्मक रूपमा धेरै बलियो हो । चुनौतिका बीचमा पनि नेपालले २३० रनको साझेदारी खेल्नु वास्तवमै रोमाञ्चक एवं विश्वस्तरीय खेलको रूपमा लिन सकिन्छ । नेपालले सोमबारको खेलमा दुईसय बनाउन सक्यो भनेपनि त्यो काफी रहेको धेरैको अनुमान थियो । कतै सुरुमै धरमराएर एकसय रनपनि नबने चिन्ता पनि थियो तर नेपालले गरेको खेल प्रदर्शनले नेपाली खेलीप्रेमी सन्तुष्ट भएका छन् । नेपालले श्रीलंकामा खेल हार्दै गर्दा नेपालमा भने नेपालले जितेको आभाष भैरहेको थियो । नेपालले सान्त्वना हारमात्र होइन, सम्मानजनक हारमात्र होइन, सारा नेपालीको मनमुटुमा बस्न सक्नेगरि खेलको प्रदर्शन गरेर हारमा पनि जीत हासिल गरेको छ ।
अव यसैगरी नेपाली क्रिकेट टिमलाई हौसला र प्रोत्साहन दिनुपर्दछ । नेपाली खेलाडीलाई त्यति धेरै अवसर छैन । खेलमै जीवन बिताउँदा भविष्य अन्धकार हुने चिन्ता पनि छ । सरकारले खेलाडीको आत्मबल बढाउन सकेको छैन् । झिनो अवसर छ । त्यसमाथि चुनौतिको पहाड छ तर ती चुनौति छिचोल्दै खेलाडीले क्रिकेटमा जुन उचाई प्राप्त गर्न सफल भएका छन, त्यसले नेपालको क्रिकेट खेलको भविष्य छ भन्ने सन्देश गएको छ । क्रिकेट इतिहासमा नेपाली उत्साह बिस्तारै माथि उक्लँदै छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको नाम राख्ने क्रम अगाडि बढेको छ । एसिया कपले नेपालको क्रिकेट भविष्य उज्यालो बनाईदिएको छ । अव नेपालको क्रिकेटलाई यसैगरी गर्बिलो बनाईरहने कि रसातलमा पुर्याउने ? सवै दायित्व र जिम्मा सरकारले लिनुपर्दछ । खेलाडीलाई प्रोत्साहन नगर्ने हो भने क्रिकेट खेलको भविष्य अन्धकारमय हुनेछ । तसर्थ खेलाडीलाई प्रोत्साहनमात्र होइन उनीहरूको जीवनबृत्तिको ग्यारेण्टी पनि सरकारले गर्नुपर्दछ । नेपाली क्रिकेट टिमलाई यसैगरि सधँैभरी बधाई दिन पाईरहने बाताबरण तयार होस् ।