© २०२३
नवलपुर, १९ भदौ ।
पुर्वी नवलपरासीको नवलपुरमा जापानिज इन्सेफ्लाइटिस’ बाट एक जनाको ज्यान गएको छ । यो लामखुट्टेको टोकाईबाट लाग्ने रोग हो ।
कावासोती नगरपालिकाका एक जना, देवचुली नगरपालिकाका एक जना गरी दुई जनामा यो सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँले जानकारी दिए ।
उस्तै लक्षण देखिएका अर्का एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । देवचुलीका सङ्क्रमित हुनेमा वडा नम्बर १७ का महिला रहेको कावासोती नगरपालिका स्वास्थ्य शाखाका कृष्णप्रसाद नागिलाले बताए ।
क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट नवलपुरमा गत आर्थिक वर्षमा सात जनामा जापनिज ईन्सेफ्लाइटिस पुष्टि भएको र पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बिरामीलाई उच्च ज्वरो आउने, बान्ता हुने, घाँटी दुख्ने, चेतना हराउने, बेहोस हुने लगायतका लक्षण देखा पर्ने उनले बताए ।
यो रोग लागेपछि बिरामीको मृत्यु हुनसक्ने सम्भावना धेरै हुने भएकाले पहिले नै सचेत हुनुपर्ने उनको भनाई छ । कुनै लामखुट्टेले जापनिज इन्सेफलाइटिस भाइरस भएको जनावरलाई (जस्तै सुँगुर वा जलपंक्षी) टोकेर त्यही लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग मानिसमा सर्ने बताए ।