© २०२३
बाँके, १८ भदौ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा. उमाकान्त तिवारीको संयोजकत्वमा गुणस्तर नियन्त्रण समिति गठन गरेको छ ।
प्रतिष्ठानको आर्थिक वर्ष २०८०÷०८१ को लागि आवश्यक पर्ने विभिन्न सामग्री तथा सेवाको गुणस्तरीयता कायम गराउन लेक्चरर, जनरल प्राक्टिस एण्ड इमरजेन्सी मेडिसिन विभागका डा. तिवारीको संयोजकत्वमा समिति गठन गरिएको हो ।
उक्त समितिको सदस्यमा डा. विनिता के.सी. (लेक्चरर, अपथाल्मोलोजी विभाग ), नविना चौधरी (स्टाफ नर्स, इन्चार्ज, आईसीयु वार्ड), अनिसा तण्डुकार स्टाफ नर्स (इन्चार्ज, ओटी) र झन्कार लामिछाने (डेपुटी रजिष्ट्रार) रहेका छन् ।
उक्त समितिले खरिद गरिने औषधी, औषधीजन्य सामग्री, औजार, यन्त्र उपकरण, कार्यालयका लागि आवश्यक जिन्सी सामान, अफिस फर्निचर, मसलन्द छपाई, निर्माण, मर्मत सम्भार, परामर्श सेवा आदिको गुणस्तरीयता कायम गर्ने गराउन भूमिका निर्वाह गर्ने छ ।
संयोजक डा. तिवारीले प्राप्त जिम्मेवारीको व्यावहारिक कार्यान्वयन हुने बताएका छन् । अस्पताल जस्तो संवेदनशील क्षेत्रका कुनै पनि सामग्री र सेवाका गुणस्तरमा सम्झौता नगर्ने गरी काम गरिने उनले जनाए ।