© २०२३
सुनवल, १८ भदौ । पश्चिम नवलपरासीको मुल भन्सार नाका, महेसपुर भन्सारदेखि पुर्वपश्चिम राजमार्गसम्म जोड्ने गरी फराकिलो सडकको पहुँच विस्तार गर्न काम सुरु भएको छ । संघीय सरकारको लगानीमा व्यापारीक नाका विस्तार आयोजना अन्र्तगत महेसपुर सिमा नाकादेखि पुर्व पश्चिम राजमार्गको सुनवल सम्म चारलेनमा सडक स्तरउन्नती गर्ने काम सुरु भएको हो ।
साढे २० किलोमिटर सडक स्तरउन्नती गर्न चार अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ । सोहि अनुरूप बहुवर्षिय योजनाको रूपमा काम अगाडी बढाउन पहिलो चरणमा डेढ अर्ब बजेट माग गरिएकोमा यो वर्ष ३० करोड बराबरको काम सुरु भएको सडक डिभिजन कार्यालय बुटवलका ईन्जिनियर महेश्वर लम्सालले जानकारी दिए । पहिलो चरणमा २१ करोड ११ लाखमा महेसपुर बजार देखि माथि तर्फ सडक विस्तारको काम भईरहेको छ । उक्त बजेटमा १५ सय मिटर सडक चार लेनमा विस्तार हुने छ । गत वैशाख २६ गते सम्झौता भएको सडकको काम १५ महिनामा सक्ने गरी गौरीशंखर हिमालयन कन्स्ट्रक्सनले बिस्तार गरिरहेको छ ।
चार लेन सडकमा बिचमा डिभाईडर, दायाबायाँ नाली र फुटपाथ निर्माण हुने छ । तर संघिय सरकारले बाँकि रकम भने बजेट अभावका कारण देखाउँदै अझै सुनिश्चित नगरिसकेकाले बाँकि सडकको ठेक्का प्रक्रिया अगाडी बढ्न नसकेको लम्सालले बताए । ‘चार अर्ब लागत अनुमान छ, डेढ अर्बको माग गरेपनि बजेट अभावमा स्वीकृत हुन सकेको छैन्, फाईल योजना आयोगमा पुगेर रोकिएको छ लम्सालले भने ।’ अघिल्लो आर्थिक वर्षमा सिमा नाका दशगजा देखि भन्सार तर्फको झन्डै ७ सय मिटर सडक चार लेनमा विस्तार भएपनि त्यसपछि बजार क्षेत्रमा के गर्ने भन्ने टुङ्गो नलाग्दा अलपत्र परेको थियो । महेशपुर बजार क्षेत्रमा सडक किनारामै घर सहितका संरचना भएकाले त्यसको टुङ्गो लगाउन स्थानिय जनप्रतिनिधिलाई जिम्मा दिईएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
बजार क्षेत्रबाटै सडक विस्तार गर्ने भन्ने मोटामोटि कुरा भएको छ, स्थानीय पालिका सहितका जनप्रतिनिधिले त्यसको टुङ्गो लगाएर सहमति गरेपछि मात्रै काम अगाडी बढ्छ लम्सालले भने । पाल्हीनन्दन गाँउपालिकाका अध्यक्ष वैजु प्रसाद गुप्ताले पालिकाले मात्रै चाहेर सडक आसपासका संरचना हटाउन नसक्ने भन्दै त्यसमा पहल भइरहेको बताए । ‘हामिले स्थानिय संग छलफल गरिरहेका छौ, सबैको सहमतिमा सडक बजार क्षेत्रबाटै सडक विस्तार हुन्छ अध्यक्ष गुप्ताले भने ।’
अहिले साघुरोँ र जिर्ण रहेको मुल भन्सार नाका संग जोड्ने उक्त सडक स्तरउन्नती सम्पन्न भएमा महेसपुर भन्सारको राजश्व संकलनमा समेत वृद्धि हुने प्रदेश सभा सदस्य वैजनाथ कलवारले बताए । महेसपुर भन्सारमा सडक लगाएतका पुर्वाधारको अभावमा राजश्व संकलनमा अपेक्षित सुधार हुन नसकिरहेको अवस्थामा सडक स्तरउन्नती हुन सके यस क्षेत्रको विकासमा ठुलो टेवा पुग्ने प्रदेश सांसद कलवारको भनाई छ । मुल भन्सार अगाडीकै सडक साघुरो र जिर्ण हुदा ठुला मालवाहक सवारी साधनहरू महेसपुर नाका हुदै आउजाउ गर्न असहज हुने गरेको छ ।