© २०२३
सल्यान, १४ भदौ । सल्यान जिल्ला बाख्रा पालनका लागि उपयुक्त ठाउँ हो । यहाँका किसानहरूको घर घरमा बाख्रा पालन गर्ने गरेका छन् । पशु अस्पताल तथा पशुसेवा कार्यालय सल्यानका अनुसार जिल्लामा चार लाख भन्दा बढी संख्यामा बाख्रा पालन हुदै आइरहेको छ । र यहाँबाट एक वर्षको अवधिमा ७० करोड भन्दा बढिको खसीबोका जिल्ला बाहिर निकासी भएको तथ्यांक छ । गत आर्थिक वर्ष २०७९/०८० मा जिल्लाबाट ७० करोड भन्दा बढिको खसीबोका जिल्ला बाहिर निकासी भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
कार्यलयका अनुसार ५७ करोडको खसी बोका निकासी भएको रेकर्ड भएपनि दुईवटा स्थानीय तहको डाटा आई नपुगेकाले ७० करोडको खसी बोका निकासी भएको अनुमान गरिएको हो । गत आर्थिक बर्ष २०७८/०७९ मा जिल्ला बाट ५३ करोड भन्दा बढिको खसी बोका जिल्ला बाहिर निकासी भएकोमा यस बर्ष बढेको पशु अस्पताल तथा पशुसेवा कार्यालय सल्यानका प्रमुख गोबिन्द महतले जनाए । ५७ करोड कार्यलयमा रेकर्ड भएपनि ७० करोड भन्दा बढिको निकासी भएको अनुमान गरिएको उनको भनाई छ ।
सल्यानको खसी बोका काठमाण्डौ, पोखरा, धनगढी लगायतका प्रमुख शहरहरूमा बढि माग हुने गर्दछ । सल्यानको खसी बोका भनेपछि अन्य जिल्लाको तुलनामा व्यापारीहरूले बढि मुल्य हाल्ने गरेको पाईएको छ । जंगलमा घाँससँग सँगै जडिबुटिहरू पनि खाने भएकाले निरोगी, स्वस्थ र खानका लागि राम्रो हुने भएकाले व्यापारीहरूले सल्यानको खसीबोका भनेपति अन्य जिल्लाको तुलनामा बढि मुल्य हाल्न कुनै कन्जुस्याई गर्दैनन् ।
बाख्रापालनलाई बढवा दिन प्रदेश सरकार र स्थानिय तहले एक पालिका एक पशु बस्तु कार्यक्रम मार्फत बाख्रा वितरण गर्दै आएका छन् । जिल्लामा व्यवसायिक बाख्रा पालन फस्टाउदै गएका कारण पनि खसीबोका निकासी हुने क्रम बढी रहेको छ । प्रत्येक घरले सामान्यया ३ देखि ५ ओटासम्म बाख्रा पालन गर्दै आइरहेको प्रमुख मतको भनाई रहेको छ ।
ब्यवसायिक वाख्रा पालनका लागि कृषकहरूलाई आकर्षित गर्न गत वर्षसम्म पशु, सेवा कार्यालयबाट विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो । बाख्रापालन प्रवद्र्यनका लागि बाखा्र वितरण, उन्नत जातका बोका खरिद, खोर निर्माण लगायतका कार्यक्रम सञ्चालन गरिएको पशु अस्पताल तथा पशुसेवा कार्यालयका सुचना अधिकारी बिरेन्द्र केसीले जानकारी दिए । साना किसान र व्यवसायिक किसानलाई वर्गिकृत गरी खोर सुधार अनुदान, वजारिकरणका लागि संकलन सहजिकरण, संक्रामक रोग विरुद्ध निशुल्क खोप सेवा लगाएत प्राविधिक सहयोग गर्ने गरेकोे उनको भनाई छ । जिल्लाबाट कपुरकोट, सल्लीबजार, कालिमाटी रामपुर लगायतका नाकाबाट खसीबोका निकासी हुने गरेको सुचना अधिकारी केसीले जानकारी दिए ।