© २०२३
काठमाडौं,११ भदौ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर घटनाका दोषीहरुलाई कारबाही नगरे अन्तराष्ट्रिय अदालत हेग जाने बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कमिटी बैठकमा साहले पीडितहरुसँग सहमति गरे पनि कुर्सी हल्लिने भएपछि सरकार पछि हटेको टिप्पणी गरे । पीडित संघर्ष समिति र सरकारबीच गौर घटनाको विषयमा सहमति गरेपनि सरकार पछि हटेको भन्दै उनले यदि नेपालबाट न्याय नपाए पीडितहरु अन्तर्राष्ट्रिय अदालत हेग सम्म जाने उनको चेतावनी छ ।
कानुनको शासन छ कि कुर्सीको भन्ने प्रश्न उठेको भन्दै उनले यदि सरकारले यसरी नै लटरपटर गर्ने हो भने पीडितहरु चुप लागेर बस्दैनन्, हाम्रो पार्टी चुप लागेर नबस्ने बताए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरुलाई जोगाएको, ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई मुद्दा चलाउनुको साटो सरकारी साक्षी बनाएको उनले स्मरण गरे । सुन काण्डमा पनि ठूला नेताहरुको नाम आएपछि सरकार हच्किएको उनको दाबी छ ।
गौर घटनामा पनि १७ वर्ष पहिला नै जाहेरी दर्ता भएको भए पनि अहिलेसम्म छानबिन समेत नगरेको उनले बताए ।