© २०२३
सल्यान, १० भदौ । खेतियोग्य जमिनलाई सिंचित गरी उत्पादन बढाउने उद्देश्यले सल्यानमा सिचाई पोखरी निमार्ण प्रभावकारी देखिएको छ । पोखरीबाट सल्यान सिद्ध कुमाख गाउँपालिकाका ६५ घरधुरीले लाभ प्राप्त गरेका छन् । सिद्धकुमाख १ स्थित बेलौतीघारीका किसानहरु सिंचाई पोखरी निर्माण भएसंगै उत्पादन बढ्ने आशामा छन् ।
गाउँपालिकाको पाँच लाख रुपैयाँ संगै किसानहरुको पनि श्रमदानबाट पोखरी निर्माण गरिएको सिद्धकुमाख १ का वडा अध्यक्ष रमेश चलाउनेले जानकारी दिए । हालै सिंचाई पोखरीको उद्घाटन गर्दै सिद्धकुमाख गाउँपालिका अध्यक्ष भरत कुमार गिरीले सिचाइको अभाव झेलिरहेका किसानको आर्थिक अवस्थालाई समेत माथी उठाउने उद्देश्यले सिंचाई पोखरी निर्माण गरिएको भन्दै हेर्दा र सुन्दा सानो योजना देखिएपनि यसको उपयोग एवम् नियमित मर्मतसम्भारबाट दिगो रुपमा लाभ प्राप्त गर्न सकिने बताए ।
गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेतले बर्षौदेखि सिंचाइको अभाव रहेको बेलौतीघारी टोललाई पोखरीले धेरै सुविधा दिने विश्वास व्यक्र गर्दै सिंचाइ पोखरीको अधिकतम प्रयोग गरेर कृषिजन्य बस्तु उत्पादनमा जोड दिन किसानहरुलाई आग्रह गरे । बेलौतीडाँडा सिंचाइ पोखरी निर्माण उपभोक्ता समितीका अध्यक्ष दिपक भण्डारीले पोखरी निर्माण पश्चात उपभोक्ताहरु खुसि रहेको बताए ।