© २०२३
सल्यान, ७ भदौ । तीन वर्ष अघि सम्पन्न खानेपानी योजना बिग्रीएपछि सल्यान बनगाड कुपिण्डे नगरपालिका, १ का ६० भन्दा बढी घरपरिवार नदीको दुषित पानी पिउन बाध्य छन् । विग्रीएको खानेपानी योजना मर्मतमा स्थानीयहरूले श्रमदान र लगानी गर्न सकेका छैनन् भने सम्बन्धीत निकायको पनि ध्यान पुग्न सकेको छैन । उक्त वडा स्थित नाम्रावासीले भेरी नदिको दुषित पानी उपभोग गर्दै आएका छन् ।
स्थानीयहरूका अनुसार खानेपानीको लाइनबाट सिँचाइ कुलो ल्याउँदा पाइप च्यापिएको, ठाउँठाउँमा पाइप फुटेको र केही ठाउँमा जाम लाग्दा विगत तीन महिनादेखि खानेपानी योजना अलपत्र परेको छ । कुनै निकायले २ किलोमिटर खानेपानी पाइप उपलब्ध गराएमा पुनः खानेपानी योजना सञ्चालन गर्न सकिने स्थानीय उपभोक्ता मनिराम विकको भनाइ छ ।
६ किलोमिटर टाढा बनगाड कुपिण्डे नगरपालिका–३ को छिपछिपेदेखि नाम्रासम्म तीन वर्षअघि खानेपानी योजना सञ्चालन गरिएको थियो । खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयको ४५ लाख र ७ लाखको जनश्रमदान गरी जम्मा ५२ लाखमा खानेपानी योजना सम्पन्न भएको थियो । तीन वर्ष नहुँदै योजना बिग्रिएपछि स्थानीय बासिन्दा पुनः भेरी नदीको पानी खान बाध्य भएका हुन् ।
३ महिनादेखि फेरि उही ३ वर्ष पहिलेको पुरानो समस्या फर्किएर आएको ७६ वर्षीया खगपति शर्माले दुखेसो गरिन् । उनले भनिन्, ‘बिहे गरी यो ठाउँमा आएको ६० वर्ष भयो। त्यो दिनदेखि भेरी नदीको धमिलो पानी खाँदै आएका थियौँ । गाउँमा योजना आएपछि खानेपानी धारामा आउँदा घरमै खाने, नुहाउने धेरै सजिलो थियो । फेरि योजना बिग्रिएपछि भेरीकै पानी खान बाध्य भयौँ ।’ सग्लो पानी खानका लागि छिमेकी जिल्ला सुर्खेतको सिम्ता जानुपर्ने बाध्यता यहाँका बासिन्दालाई छ । तन्नेरीहरू पारी सुर्खेतको सिम्ता गाउँपालिका–४ बाली खोला व्यक्तिको घरमा गएर पानी ल्याएर खाने गरेको तर आफूहरू बुढेसकालका भइसकेकाले पारी जान नसक्दा भेरी नदीको पानी खान बाध्य भएको रत्ना परियारले बताइन् ।
६ किलोमिटर टाढाबाट खानेपानी ल्याउँदा यसको दिगो व्यवस्थापन हुन नसकेको गंगा प्रावि नाम्राकी प्रधानाध्यापक चित्रकला शर्माले बताइन् । उनका अनुसार घरघर भएको धारामा पानी नआउँदा विद्यार्थी पनि भेरी नदीको पानी खान बाध्य छन् । यता बनगाड कुपिण्डे नगरपालिकाका उपमेयर पुरुषोत्तम आचार्यले भेरी नदीको पानी खाइरहेको आफूहरूलाई जानकारी नभएको बताए । पहिलोपटक जानकारी आएकाले त्यसको सत्यतथ्य बुझेर छिटै शुद्ध खानेपानी व्यवस्थापन गर्ने उनको आश्वासन छ ।