© २०२३
गुल्मी, ७ भदौ । गुल्मीमा उमेर नपुगी बिहे गरेका कारण करिब चार सय किशोरी आमा बनेका छन् । किशोर किशोरीहरूमा समयमै जनचेतनाको अभावका कारण २० वर्ष नपुग्दै लहैलहैमा विहे गर्ने परिपाटिका कारण जिल्लामा कतिपय किशोरीहरू उमेर नपुग्दै गर्भवती हुने गरेका हुन ।
जिल्लामा बालबालिकाको नाममा स्थानीय सरकारहरूले लाखौं बजेट खर्च गरिरहेको भएपनि उक्त खर्च यतिबेला बालुवामा पानी खन्याए जस्तै बनेको छ । गर्भवती किशोरीहरू आमा बन्नेहरूमा धेरै जसो विपन्न परिवारका रहेका छन । कतिपय किशोरीहरूले स्कूल पढ्दा पढ्दै १६ बर्षको उमेरमै विहे गर्ने र १९ वर्षमै दुई सन्तान जन्माईसकेका हुन्छन । २० बर्ष उमेर नपुग्दै बिबाह गरेका कारण उनीहरूलाई विवाह दर्ता गराउन ठूलो समस्या छ । प्रेमको नसामा उमेर नपुगि विहे गरेर गर्भवती बनेपछि कतिपय किशोरीहरूलाई परिवार र आफ्नै प्रेमीबाट पनि चाँडै टाढिनु र विचैमा अलपत्र पर्नु पर्ने बाध्यता उत्पन्न भएको छ ।
गुल्मीमा हाल करिव चार सय किशोरी आमाहरू रहेका छन् । स्वास्थ्य कार्यालय गुल्मीको तथ्यांक अनुसार ३ हजार ५ सय ३४ आमाहरूले गर्भवति भएपछि पहिलो पटक स्वास्थ्य संस्थामा स्वास्थ्य परिक्षण गराएका छन् । ती मध्ये २० बर्षमुनिका मात्र तीन सय ८१ जना आमाहरू रहेको स्वास्थ्य कार्यालय गुल्मीका तथ्यांक व्यवस्थापक मदन पालले जानकारी दिएका छन । जिल्लामा २० बर्ष नपुग्दै किशोरी आमा बनेकाहरू मध्य सवैभन्दा धेरै रेसुंगा र मुसिकोट नगरपालिकामा रहेका छन । उक्त नगरपालिकाहरूमा ५२/५२ जना रहेका छन् ।
त्यस्तै जिल्लाको मदाने गाउँपालिकामा ४०, सत्यवतिमा ३८, धुर्कोटमा ३५, इस्मामा ३३, चन्द्रकोटमा २६, मालिकामा २१, गुल्मी दरबारमा १९, रुरुक्षेत्रमा १२, कालिगण्डकीमा १७ र छत्रकोटमा ६ जना रहेका छन । जिल्लामा पछिल्लो तथ्यांक अनुसार कुल तीन सय ५१ जना २० बर्षमुनिका आमाहरू रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । आर्थिक बर्ष ०७७/०७८ मा पाँच सय ९३ जना र आर्थिक बर्ष ०७८/०७९ मा पाँच सय ३० जना २० बर्ष नपुगेका आमाहरू रहेका थिए ।
सामाजिक अभियान्ता तथा अधिवक्ता हिरा कुवँरले २० बर्ष नपुग्दै बिबाह गर्ने आमाहरूको संख्या बिगतदेखिनै डरलाग्दो रहेकाले सचेतना आवश्यक रहेको बताईन । मुलुकी देवानी संहिता ०७४ को दफा ७० (१) (छ) मा महिला र पुरुषबीच विवाह हुनपर्ने उमेर २० बर्ष तोकिएको छ । उमेर नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन् । यो कानुन अनुसार विवाह नै बदर हुनेदेखि तीन बर्ष कैद र तीस हजार जरिवाना सम्मको व्यवस्था विभिन्न दफाहरूमा उल्लेख गरिएको अधिवक्ता कुवँरले बताएकी छन । उनले समुदाय र बिद्यालय स्तरमा कानुनी सचेतना अभिबृद्धि गर्नुपर्नेमा जोड दिएकी छन ।
स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जिल्लामा २० बर्ष नपुग्दै बिबाह गर्ने र गर्भवति हुने आमाहरूको संख्या बढ्दै गएको बताए । उनले स्थानीय तह अनुसार गर्भवति तथा सुत्केरी कोशेली वितरण, पोषण प्याकेज, निशुल्क एम्बुलेन्स लगायतका कार्यक्रम भएकाले कम उमेरमा बिबाह गरेर गर्भवति तथा सुत्केरी हुनेहरूलाई पालिकाले सुविधामा रोक लगाउनु पर्ने सुझाव दिएका छन ।
कम उमेरमा बिबाह गरेर गर्भपति हुँदा बच्चा खेर जाने, समय नपुग्दै जन्मिने, बच्चालाई क्षारे हुने, आमाको पाठेघरको मुख च्यातिने, बढि रक्तश्राब हुने र बच्चा जन्मिसकेपछि आमामा मानसिक समस्यासँगै आमा र बच्चाको ज्यान जाने समेत खतरा हुने गर्दछ । पछिल्ले समयमा बालबालिकाको दैनिकी, साथीहरूको संगत, आनीबानी र सामाजिक सञ्जालको प्रयोग लगायतका कारण समस्याहरू बढ्दै गएका छन । यसको न्यूनीकरणको लागि स्थानीय सरकारहरूले बालविवाह न्यूनीकरणको लागि किशोर–किशोरी केन्द्रित कार्यक्रम र अभियान सञ्चालन गर्नुपर्ने बताईएको छ ।