© २०२३
काठमाण्डौ, ५ भदौ । हास्यव्यंग्य कलाकार जितु नेपालले मुन्द्रेको कमेडी क्लव अपेक्षा अनुसार चल्न नसकेको बताए । सोमवार काठमाडौंमा जितुको हास्यव्यंग्य गाईजात्रा २०८० को बारेमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले यो जानकारी दिए ।
दर्शक कम हुनुमा उस्तै कमेडी विधाका अन्य कार्यक्रमहरु बाँडिनु मुख्य कारण भएको उनी बताउछन । तुलनात्मक रुपमा पहिलाको जस्तै युट्युबमा भ्युअर्समा कमी आएको भन्दै उनले पहिला जस्तो ठूलो सेटमा कार्यक्रम समेत हुन कम भएको बताए । ‘अहिले खुम्चिएर सानो सेटमा कार्यक्रम गर्न बाध्य छौ ’— उनले भने । पहिलाको जस्तो अवस्था नरहेको उनले दुखेसो गरे । गाईजात्रामा आफूले राजनीतिक र समसामयिक विषयवस्तुहरु उठान गर्दै आएको भन्दै उनले पहिलाबाट नै राजनीतिक रुपमा व्यंग्य गर्ने रुपमा गाईजात्रा मनाउने गरिएको बताए । अन्य बेलामा अन्य विषय र कलाकारहरुलाई व्यंग्य गर्न सकिने तर राजनीतिप्रति खुलेर व्यंग्य गर्न पाइने एउटै अवसर गाईजात्रा भएको उनले बताए ।
यसपटकको गाईजात्रा भिडियोमा काँग्रेस सभापति शेरबहादुर देउवा देश छोडेर विदेश पलायन भएको विषयवस्तु उठाइएको उनले बताए । साथै अन्य नेताहरु पनि देश देशलाई खाल्डोमा हालेर देश छोडेर विदेश पलायन भएको लगायतका विषयवस्तुहरुमाथि व्यंग्य गरिएको उल्लेख गरे । ‘शेरबहादुर देउवाजीमात्रै होइन सबै विदेश जाँदै हुनुहुन्छ, हाम्रो गाईजात्रामा ’—उनले भने ।
कार्यक्रममा वरिष्ठ हास्य कलाकार सुरेन्द्र केसी (मुला साग) ले मुन्द्रेको कमेडी क्लव बिस्तारै मैदानमा खरो उत्रिरहेको बताए । गाईजात्रा २०८० नजिकिएसँगै कलाकारहरु हास्यव्यंग्यमार्फत समाज, देश र विदेशका राजनीतिक, समसामयिक विषयवस्तुमाथि व्यंग्यात्मक कार्यक्रम लिएर आउन थालेका छन् । गाईजात्राको अवसरमा हरेक वर्ष कलाकारहरुले आफ्ना व्यंग्यात्मक प्रश्तुती दर्शक र श्रोतामाझ पस्किँदै आएका छन् ।