© २०२३
बुटवल, ३ भदौ ।
नेपाली राजनीतिमा भैरहेको बेथिति र सत्ताको खेल सम्वन्धी पुस्तक विश्वका सर्वहारा वर्गले महान् गुरु मान्दै आएका कार्ल मार्क्सको जन्मघर जर्मनीमा पुगेको छ ।
रामकृष्ण भण्डारीद्वारा लेखिएको कृति सत्ता सङ्घर्ष पुस्तकलाई लेखक ददि सापकोटाले मार्क्सवादका प्रणेता मानिएका मार्क्सको जन्मघरमा पुर्याएका हुन् । मार्क्सको जन्म घरमा उनको शालिकमा पुस्तक समर्पित गरिएको छ। कृतिका लेखक रामकृष्ण भण्डारीले वर्ग संघर्षका प्रणेता मार्क्सको जन्म घरमा नेपाली सत्ता सङ्घर्षको नालीबेली समेटिएको पुस्तक पुर्याइनु आफ्ना लागि र नेपालीकै लागि गौरवको विषय भएको बताए ।
मार्क्सको जन्म ५ मे १८१८ मा भएको थियो। उनको मृत्यु १४ मार्च १८८३ मा भएको थियो। ‘हामीसँग हार्नका लागि केही छैन, केवल एउटा सिक्रीबाहेक तर जित्नका लागि भने सारा संसार छ ।’ भन्ने मार्क्स जर्मनको पश्चिमी भाग राइन प्रान्तको ट्रियर नगरमा एक सभ्य यहुदी वकिल परिवारमा जन्मेका थिए ।
कम्युनिष्ट घोषणा पत्र उनले लेखेका मध्येको बहुचर्चित दस्तावेज हो। यसमा मार्क्सले “पुरानो सामाजिक आर्थिक प्रणाली सरह पूँजीवाद पनि आन्तरिक तनावको कारण विनाश भएर जानेछ । जसरी सामन्तवादको स्थान पूँजीवादले लिन्छ त्यसरी नैं समाजवादले पनि पूँजीवादको स्थान ओगट्ने पालो निश्चय आउनेछ अनि राज्यविहीन, वर्गहीन शुद्ध साम्यवादी समाजको निर्माण हुनेछ “भन्ने तर्क दिएका छन् । नेपाली कम्युनिष्ट पार्टीहरुले मार्क्सवादी सिद्धान्तलाई आत्मसाथ गर्दै आएका छन्।