© २०२३
सल्यान, २ भदौ । सल्यान वनगाड कुपिण्डे नगरपालिकाका स्थानीय अझै पनि तुईनको जोखिम यात्रा गर्न बाध्य छन् । पायक पर्ने ठाउँमा पुल नहुँदा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्ने, विद्यार्थी, महिला बिरामी र बालबालिकाले आवतजावतमा तुईनको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । बनगाड कुपिण्डे नगरपालिका–२ कुनिक, बामे, लाहाघाट, राइरा सहित छिमेकी जिल्ला जाजरकोटको छेडा नगरपालिका–१३ खाराका स्थानीय तुइनकै माध्यमबाट भेरी वारपार गर्दै आएका छन् । भेरीमा निर्माण गरेको तुइनको लम्बाई १ सय २५ मिटर रहेको छ ।
बनगाड कुपिण्डे नगरपालिका–२ का ६० वर्षीय मानबहादुर घर्तीले नदी वारपारका लागि निकै सास्ती खेप्नु परेपछि प्रत्येक घरले रकम उठाई झोलुंगे पुलको लहरा किनी तुइन बनाएको बताए । पुल नहुँदा विगतमा गाडीको ट्युब प्रयोग गरी भेरी नदी वारपार गर्न बाध्य हुँदै आएका स्थानीयलाई केही राहत भएपनि जोखिम भने उत्तिकै रहेको छ । धेरै ठाउँमा तुइन विस्थापन गरेर झोलुंगे पुल बनाइए पनि अझै केही ठाउँमा पुलको अभाव छ ।
नदीमा झोलुंगे पुल र अन्य ठाउँबाट आवतजावत गर्ने बाटो नहुँदा वर्षौदेखि तुइनबाट जोखिमपूर्ण यात्रा गर्दै आइरहेको स्थानीय डिल्ली घर्तीको भनाइ छ । अप्ठेरो बाटोबाट जोखिमपूर्ण आवतजावत गर्नुभन्दा तुइनकै सहायता लिनु आफूलाई ठिक लागेको उनको भनाइ छ । उनका अनुसार स्कुले बालबालिका, वृद्धवृद्धा लगायतलाई तुइनकै भरमा नदी वारपार गर्नुपर्ने बाध्यता छ ।
कुनिक नजिकै भेरी नदीमा झोलुंगे पुल निर्माणका लागि यो वर्ष प्रक्रिया अघि बढेको बनगाड कुपिण्डे ननरपालिका वडा नम्बर २ का वडाध्यक्ष मनबहादुर खत्रीले बताए । तुइन निर्माणका लागि व्यक्तिगत रूपमा १५ हजार नगद सहयोग गरेको र ५० हजार पर्ने झोलुङ्गे पुलको लहरालाई २५ हजारमा किनेर ल्याएको उनको भनाई छ ।