© २०२३
काठमाडौं,१ भदौ । ललितानिवास प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईमाथि कीर्ते सम्बन्धमा छानबिन वा बयान केही पनि नहुने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा मुद्दा नचलाएको र कीर्ते गरेको पुष्टि हुने ठोस आधार नभेटिएकाले बयान वा कागज गराउन समेत आवश्यक नभएको निष्कर्षमा सीआईबी पुगेको उच्च स्रोतले जानकारी दिएको छ । अख्तियारले भ्रष्टाचारमा मुद्दा नचलाएको र अहिले कीर्तेमा अनुसन्धान भइरहेको तर उहाँहरूले नै कीर्ते गरेको भन्ने ठोस आधार पनि नदेखिएको सरकारी स्रोतको दावी छ ।
सर्वोच्च अदालतले ललितानिवास प्रकरणको छानबिन पिरामिड शैलीमा गर्न आदेश दिएपछि दुई पूर्व प्रधानमन्त्रीमाथि पनि अनुसन्धान गर्न दबाब थियो ।
तर, डा. भट्टराई र नेपालसँग बयान वा कागज केही नगरी सीआईबीले प्रतिवेदन तयार पार्न शुरू गरेको छ ।
सम्भव भएसम्म आजै, नत्र आइतवारसम्ममा प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने सीआईबीको तयारी छ ।
राजनीतिक वृत्तमा भने सत्ता गठबन्धनमा असर पर्ने भएकाले नेपाल र भट्टराईलाई छानवीनको दायरामै नल्याई उन्मुक्ति दिन थालिएको चर्चा भएको छ ।