© २०२३
काठमाडौ,२८ साउन । नेकपा एमालेले सुन तस्करी प्रकरणमा स्वतन्त्र र निश्पक्ष उच्चस्तरिय छानबिन समितिको अडानबाट पछि नहट्ने भएको छ । आइतबार पार्टी कार्यालय च्यासलमा विशेष पत्रकार सम्मेलन गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले करिब क्विन्टल सुन तस्करी प्रकरणमा सरकारले नै तस्करहरुलाई संरक्षण गरेको आशंका गर्दै आफूहरुले भनेजस्तो उच्चस्तरीय छानबिन आयोग गठनको कुरा सुन्नै नचाहेको बताए ।
पत्रकार सम्मेलनमा लिखित प्रेस विज्ञप्ति वाचन गर्दै गौतमले एमालेले अघि सारेको माग पुरा नभएसम्म दबाबका कार्यक्रम जारी नै राख्ने एमाले निर्णय कायम रहेको बताए । सरकार समितिको नाम लिन नै नचाहेर अनावश्यक अडान लिइरहेको छ । माग पुरा नभएसम्म दवावका कार्यक्रम चलाउने कुरा यथावत छ– गौतमको भनाइ छ ।
उनले सत्ता संरक्षित र सुनियोजित ढंगले भएको सुन तस्करी प्रकरणका घटना बारम्बार दोहोरिएकाले गहिराइमा पुगेर अनुसन्धान हुनुपर्ने एमालेको माग दोहोर्याए । गृह र अर्थ मन्त्रालय समेत जोडिएको यो विषय र नौ किलो अर्को सुन तस्करी प्रकरणमा सत्तारुढ पार्टीका नेता र परिवारसँग सामान्य सोधपुछ पनि नगर्नुले पनि यो बिषयमा सरकार जोडिएको आशंकालाई बल पुगेको छ’, एमालेको भनाइ छ ।
सत्यतथ्यको गहिराइमा आवस्यक नीतिगत कानुनी स्वतन्त्र, निश्पक्ष र न्यायीक छानबिन समिति गठन हुनुपर्छ’, एमालेले भनेको छ ।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले संसद अवरोध नगरेको प्रस्टिकरण दिएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले निश्पक्ष छानबिन आयोग गठन गर्न किन नहुने भन्दै प्रश्नसमेत गरे । साथै उनले तस्करीको सुनमा सरकारको संलग्नता नभए किन आयोग बनाउन तर्सिएको भन्दै प्रश्न गरे ।
सरकारको अयोग्यता, नालायकिपन वा लाचारी के हो ? सुन तस्करीमा सरकारको संलग्नता छैन भने किन तर्सिन्छ ? हामीले आफ्ना कार्यकर्ता राखेर होइन, न्यायिक छानबिन भनेका छौ’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ । बहलवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने ओलीको माग छ ।
एसपीको नेतृत्वमा छानबिन गर्दा एसएसपीले यसो नगर्नु भनेपछि गर्न सक्दैन । गोल्डेन टच पो भयो यो त । ब्रेक सु छोयो अर्को छोयो सुन भन्सारबाट जे ल्याउँदा पनि सुन यस्तो अवस्थामा देश छ, ओलीको भनाइ छ ।
उनले संसद अवरोध हुन नहुने र एमालेले नभई सत्तापक्षले नै संसद अवरोध गरेको बताए ।
उनले संसदमा प्रतिपक्ष बोल्न उठ्ने वित्तिकै सत्तापक्ष उठेर होहल्ला गर्ने बोल्नै नदिने गरेको समेत बताए ।
उनले चुरोट भनेर ल्याउने त्यो सुन हुने गरेको भन्दै कांग्रेस सांसद सुनील शर्माले बोल्दा उनलाई नै पक्राउ गरेर मुख थुन्ने प्रयास गरिएको आरोप लगाए ।