© २०२३
बुटवल, २४ साउन । तिलोत्तमा नगरपालिकाको जानकीनगरमा बुधबार वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्वस्थ रगत सबैका लागि भन्ने उद्देश्यका साथ स्थापित नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखा, सगरमाथा टोल विकास संस्था र ग्लोबल ओरियन्स नेपाल जानकीनगरको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा १ सय १ जनाले रक्तदान गरेको कार्यक्रमको संयोजक तथा तिलोत्तमा शाखाका आजीवन सदस्य विष्णु भण्डारीले बताए ।
कार्यक्रमको तिलोत्तमा वडा नं. २ का वडाध्यक्ष डिलबहादुर भट्टराईले रक्तदातालाई ब्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गर्दै रगतमा लाग्ने व्यवस्थापन शुल्क सरकारबाट व्यहोर्ने कार्यको थालनी भएको बताए । स्वस्थ युवाले नियमित रक्तदान गर्नुपर्नेमा जोड दिदै उनले रुपन्देही रक्तदाताको हब बनेको दाबी गरे ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्री, नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाका अध्यक्ष गोविन्द भुसाल, सगरमाथा टोल विकास संस्थाका अध्यक्ष ध्रुब पाण्डेले रक्तदान पवित्र दान भएको भन्दै युवाहरुलाई यो अभियानमा जोडदै जानुपर्ने सुझाव दिए ।
नेपाल रेडक्रस सोसाईटी, रक्त सञ्चार सेवा इकाई भैरहवाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा प्रथम पटक रक्तदान गर्ने र ५० प्रतिशत महिला रक्तादाताहरुको सहभागीता रहेको थियो ।