© २०२३
काठमाडौं,२४ साउन । राष्ट्रियसभा सदस्य बामदेव गौतमले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने हो भने प्रधानमन्त्रीले राजीनामा गर्ने स्थिति आउने बताएका छन् ।
बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले एमालेको माग अनुसार उच्चस्तरीय छानबिन समिति गठन गर्ने हो भने प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीमाथि पनि छानबिन हुन सक्ने र त्यसका लागि उनीहरुले राजीनामा गर्ने अवस्था आउने बताएका हुन् ।
उच्चस्तरीय छानबिन समितिको कार्यादेश र कार्यक्षेत्र हुने भन्दै गौतमले प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीसम्म पनि प्रवेश गर्ने त्यसले अधिकार माग्ने उल्लेख गरे । हाम्रोमा निलम्बन गर्ने व्यवस्था नभएकाले प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने हुन्छ, राजीनामा गरेपछि अर्को प्रधानमन्त्री निर्वाचित गर्ने प्रक्रिया सुरु हुन्छ, जसले यो छानबिन ओझेलमा पारिदिन्छ – गौतमले भने । बरु अविश्वास प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाउन उनले सुझाव दिए ।
पूर्वगृहमन्त्रीसमेत रहेका गौतमले गृहमन्त्री नारायणकाजी श्रेष्ठले ३५ दिन समय मागेको भन्दै त्यसपछि उच्चस्तरीय छानबिन समिति गठनमा जान सकिने बताए ।