© २०२३
सल्यान, २४ साउन । सल्यान जिल्लामै पहिलो पटक छत्रेश्वरी गाउँपालिकाले शिक्षण सिकाई वडापत्र लागू गरेको छ । कक्षाकोठाको शिक्षण सिकाई क्रियाकलापदेखि समग्र विद्यालय क्षेत्रको शैक्षिक गतिविधि सुधार गर्ने उद्देश्य सहित शिक्षण सिकाई वडापत्र कार्यान्वयनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।
छत्रेश्वरीको शिक्षा क्षेत्र योजना अन्तर्गत तयार गरेर लागू भएको शिक्षण सिकाई वडापत्रले शिक्षण सिकाइमा सहजीकरण गर्ने र सबै विद्यालयको पठनपाठनमा एकरूपता आउने गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीको अपेक्षा छ । शैक्षिक क्षेत्रको उन्नति र विकासका लागि सबै सरोकारवालासँग समन्वय गर्दै अघि बढ्ने उनको भनाइ छ ।
छत्रेश्वरी गाउँपालिकाभित्रका सबै विद्यालयमा शिक्षण सिकाई वडापत्र राखिएको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । शिक्षा अधिकृत केशर बहादुर वलीले भने, ‘एकाई योजना र पाठयोजना निर्माण गरी शिक्षण सिकाई सहजीकरण गर्न पनि बडापत्रले शिक्षकलाई महŒवपूर्ण सहयोग प¥याउने छ । हाम्रो पालिकाका ३९ वटै विद्यालयमा शिक्षण सिकाई वडापत्र राखिएको छ ।’ छत्रेश्वरी गाउँपालिकामा ४० वटा सामुदायिक विद्यालय मध्ये एउटा विद्यालयमा बालविकास केन्द्र मात्रै सञ्चालनमा रहेको छ ।
गाउँपालिकाभित्र रहेका कक्षा १ देखि ५ सम्मका एकीकृत शिक्षक तथा कक्षा ६ देखि १० सम्मका विषयगत शिक्षकहरू सहित त्रैमासिक रूपमा शिक्षण सिकाई योजना बनाएर बडापत्र तयार गरिएको शिक्षा अधिकृत वलीले बताए । बडापत्र अनुसार पठनपाठन भएनभएको बारे पालिकास्तरबाट नियमित रूपमा अनुगमन तथा सहजिकरण हुने समेत उनको भनाइ छ । छत्रेश्वरी गाउँपालिकाले यस वर्ष स्थानीय पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक पनि निर्माणको तयारी गरेको छ । गत वर्षदेखि कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ ।