© २०२३
काठमाडौं, १६ साउन । संवैधानिक परिषद्को बैठक आज बस्दैछ। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि आज अपरान्ह ४ बजे बैठक बस्न लागेको हो।
सर्वोच्चका प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण साउन २० बाट अनिवार्य अवकाशमा जाँदै छन्। सर्वोच्चमा हाल बहाल रहेका १४ न्यायाधीशमध्ये वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नै प्रधानन्यायाधीशको रोलक्रममा छन्। त्यसपछि ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईसहित ८ न्यायाधीश प्रधानन्यायाधीशका लागि योग्य छन्।
परिषद्ले यिनैमध्येबाट एक जनाको नाम सिफारिस गर्नेछ। संविधानको धारा २ सय ८४ को उपधारा ३ मा न्यायाधीश वा प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ।
तर प्रधानन्यायाधीशले अवकाश पाउने ४ दिनअघि बल्ल संवैधानिक परिषद्को बैठक बस्न लागेको हो। मंगलबार नै परिषद्ले सिफारिस गरे संसदीय सुनुवाइ समितिमा पठाइनेछ।