© २०२३
सल्यान, १६ साउन । सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा पछिल्लो समय बढ्न थालेका सडक दुर्घटना तथा चोरीका घटना नियन्त्रणका लागि सिसि टिभी क्यामेरा जडान गरिएको छ । शारदा नगरपालिकाले चोरी, सवारि दुर्घटना र अपराधका घटना नियन्त्रणका लागि भन्दै श्रीनगर बजार क्षेत्रमा सिसि क्यामेरा जडान गरेको हो ।
बजार क्षेत्रमा हुने विभिन्न घटनाहरुको पहिचान गर्न तथा बजार क्षेत्रलाई सुरक्षित राख्नका लागि श्रीनगर बजारका विभिन्न भाग र नाकाहरुमा सिसि क्यामेरा जडान गरिएको नगर प्रमुख प्रकाश भण्डारीले जानकारी दिए । श्रीनगर बजारका सबै क्षेत्रलाई समेट्ने गरी ८ थान सिसि क्यामेरा जडान गरिएको उनको भनाई छ । सिसि कयामेराको रेखदेख तथा सुरक्षाको जिम्मा इलाका प्रहरी कार्यालय शितलपाटीलाई दिइएको छ ।
मोसन डिटेक्सन एआइ बेस्ड ३६० डिग्री रोटेड क्यामेरा श्रीनगर बजारमा जडान गरिएको नगरपालिकाका सुचना प्रविधि अधिकृत नविन मल्लले जानकारी दिए । जडान गरिएका सिसि कयामेरा विशिष्ट खालका ९अत्याधुनिक० रहेको नगरपालिकाले जनाएको छ । चालु आर्थिक बर्षमा नगरका अन्य बजार क्षेत्र, बरला, मार्के, दुल्धारापोखरा लगायतका ठाँउमा पनि सिसि क्यामेरा जडानको काम गर्ने नगरपालिकाले जनाएको छ । यस अघि सल्यान सदरमुकामका विभिन्न ठाँउमा नगरपालिकाले सिसि क्यामेरा जडान गरिसकेको छ ।