© २०२३
बुटवल,१६ साउन । पाल्पाको बगनासकाली गाउँपालिकाका एक वडाध्यक्षले नदीजन्य पदार्थ अवैधरूपमा उत्खनन गरी बेचबिखन गरेको पाइएपछि जरिवाना गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाले वडा नं ६ का वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले नदीजन्य पदार्थ अवैध रूपमा उत्खनन गरी बेचबिखन गरेको पाइएपछि दुई लाख १० हजार जरिवाना गर्ने निर्णय गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि गाउँपालिकाले यो विषयलाई आन्तरिक रूपमा मिलाउन खोजे पनि यो विषय सार्वजनिक भएको हो ।
गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले वडाध्यक्ष अधिकारीले गाउँपालिकाको ६ नं वडा यम्घा दर्पुकको मचेटाघाटबाट अवैध रूपमा नदीजन्य पदार्थ चोरी निकासी गरेको पुष्टि भएपछि गाउँपालिकाको गत असार ३० गते बसेको कार्यपालिका बैठकले जरिवाना गर्ने निर्णय गरेको बताइन् ।
मचेटाघाट क्षेत्रमा नदी कटानले बस्तीसँगै, स्याङ्जा र पाल्पा जिल्ला जोड्न गरी निर्माण भइरहेको पुल र बगनासकाली बृहत् लिफ्टिंग खानेपानी आयोजनाको मुहान क्षेत्रमा असर पर्ने भएकोले त्यसको ५ सय मिटर वरिपरि उत्खनन गर्न गाउँपालिकाले रोक लगाएको छ।
बगनासकाली गाउँपालिकाको आर्थिक ऐन २०७९ को दफा २५ ले अवैध ढंगले नदीजन्य पदार्थको उत्खनन तथा बेचबिखन गरेको पाइएमा प्रतिटेक्टर ५ हजारका दरले जरिवाना लिने व्यवस्था गरेको छ।
वडाध्यक्ष अधिकारीले अवैध रूपमा बन्द रहेको घाटबाट ढुंगा, गिट्टी, बालुवा चोरी निकासी गरी ४२ टेक्टर नदीजन्य पदार्थ दर्पुक क्षेत्रको विभिन्न तीन स्थानमा डम्पीङ गरि राखेको पाइएपछि ऐनको सोही व्यवस्थाअनुसार प्रतिटेक्टर ५ हजारका दरले हुन आउने एकमुष्ट रकम दुई लाख दश हजार रुपैयाँ जरिवाना गरिएको पालिकाले जनाएको छ।
अध्यक्ष अधिकारीमाथि बगनासकाली गाउँपालिका ६ यम्घाको मचेटाघाटबाट अवैध रूपमा नदीजन्य पदार्थ चोरी निकासी गरी सोही वडाको दर्पुक क्षेत्रको विभिन्न तीन स्थानमा जम्मा गरी राखेको र दर्पुककै नाली र सडक स्तरोन्नति योजनामा अवैध नदीजन्य पदार्थ प्रयोग गरेको स्थानीयले आरोप लगाउँदै आएका छन्।
गाउँपालिकाले वडाध्यक्ष अधिकारीसँगै पारिलेक कन्स्ट्रक्सनका सञ्चालक दामोदर गैरेलाई समेत ७५ हजार जरिवाना गर्ने निर्णय गरेको जनाएको छ ।
गैरेको नाममा रहेको पारिलेक कन्स्ट्रक्सनले लुम्बिनी प्रदेश सरकारको बजेटमार्फत सहरी विकास तथा भवन कार्यालय मातहतबाट ठेक्का भएको दर्पुक बस्ती क्षेत्रको नाली तथा सडक स्तरोन्नतिको योजनामा १५ टेक्टर अवैध नदीजन्य पदार्थको प्रयोग गरेको पाइएको थियो।
अध्यक्ष अधिकारी र गैरेले अवैध रूपमा नदीजन्य पदार्थको चोरी निकासी गरेको भन्दै स्थानीयले गुनासो गरेपछि गाउँपालिकाले गएको वैशाख १८ गते अध्यक्ष सरस्वती चिदीको नेतृत्वमा स्थलगत अनुगमन गरी जिल्ला समन्वय समिति पाल्पा प्रतिवेदन बुझाइएको थियो। सोही प्रतिवेदनका आधारमा समन्वय समितिले वैशाख २० गते गाउँपालिकालाई अवैध कार्य तत्काल रोक्न र संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन निर्देशन गरेको थियो।
तर वडाध्यक्ष अधिकारीले भने पालिकामा आफू अल्पमतमा भएकाले एकपक्षीय निर्णय भएको भन्दै पुनरावलोकन गर्न केही दिनमा निवेदन दिने बताए ।
अधिकारीले घरायसी कामको लागि रसिद काटेर केही ट्याक्टर नदीजन्य वस्तु घरमै राखेको त्यो बाहेक अरु केही नगरेको र वडाध्यक्ष भएपछि पुरानो काम बन्द गरेको बताए ।