© २०२३
बुटवल,१४ साउन । करीब १०० किलो सुन तस्करी प्रकरणमा थप एक जना विदेशी नागरिक पक्राउ परेका छन्।
राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलबाट चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङलाई पक्राउ गरेको हो। विभागले चलाइरहेको एक साताभन्दा लामो समयदेखि अपरेशनका क्रममा उनलाई पक्राउ गरिएको जनाएको छ।
विभागका महानिर्देशक नवराज ढुंगानाले दावा तस्करीमा संलग्न भएको प्रमाण फेला परेकाले नियन्त्रणमा लिएको बताए। चिनियाँ मूलको भए पनि उनीसँग नेपाली नागरिकता पनि छ । यिनी यो गिरोहका निकै महत्त्वपूर्ण सदस्य हुन् ।
छिरिङलाई ठमेलस्थित होटल भियनाबाट पक्राउ गरिएको हो। उनले नेपाली नागरिकता र राहदानी समेत लिएका छन्।
उनले काभ्रेबाट नेपाली नागरिकता लिएको पाइएको थियो।
यो प्रकरणमा अहिलेसम्म १८ व्यक्ति पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा एक चिनियाँ र एक भारतीय नागरिक पनि छन्।
आज पक्राउ परेको दावाको नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुन, उहाँकी पत्नी पूर्वसभामुख ओनसरी घर्ती मगर र पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनसँग निकै घनिष्ट सम्बन्ध रहेको स्रोतको दावी छ । दावा र माओवादीका नेताहरु संगै बसेर खानपान गरेको फोटो सार्वजनिक भएसंगै माओवादी नेताहरुमाथि पनि अनुसन्धान सोझिने आंकलन गरिएको छ । माओवादी नेताहरुसंगको सम्बन्धकै आडमा दावाले नेपालमा अबैध धन्दा चलाएको र पछिल्लो समय सुन तस्करीमा लागेको अनुसन्धानमा सहभागी एक अधिकारीले बताए । उनका अनुसार यसअघि पनि थुप्रै अपराधमा संलग्न भएका दावालाई राजनीतिक संरक्षणकै कारण जोगाउने काम भएको थियो ।