© २०२३
सुनवल, १४ साउन ।
बाढीको कटानबाट बचाउन पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित झरही खोला किनारमा आइतबार नेपाली सेनाले वृक्षारोपण गरेको छ । रामग्राम नगरपालिकाले करिडोरको रुपमा विकास गर्ने तयारी गरिरहेको झरही खोला किनारमा नेपाली सेनाको गोरखदल गणले वृक्षारोपण गरेको हो ।
८ सय ५० वटा बकाईनो, गुलमहर, कागती, बास, निम लगायत जातका विरुवा रोपिएको गोरखदल गणका प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले जानकारी दिए । झरही खोलाको बाढीले दुई वर्ष अगाडि पुरै परासी बजार डुबानमा परेको थियो । सोही कुरालाई मध्यनजर गर्दै अहिले झरही खोला किनारै किनार वृक्षारोपण गरिएको नेपाली सेनाले जनाएको छ । लगाईएका विरुवा संरक्षणका लागि स्थानीय जनप्रतिनिधि संग समन्वय गरिने प्रमुख सेनानी श्रेष्ठले बताए ।
“हामीले वडा कार्यालयदेखि नगरपालिका सम्मले लिएको योजनामा एउटा ईटा थप्ने काम गर्न खोजेका छौ”–श्रेष्ठले भने । रामग्राम १ का वडा अध्यक्ष रुद्रप्रकाश उपाध्यायले वडाबाट हेरालु राख्ने विषयमा आफुले नगरपालिकासंग छलफल गर्ने बताए । झरही खोला किनारमा नगरपालिकाले करिडोरको रुपमा विकास गर्न लागेकाले सोही अनुरुप करिडोरको दायाबायाँ विरुवाका कारण बाढी पनि रोकिने र सौन्दर्यकरण पनि हुने नगर उपप्रमुख सम्झना चौधरीले बताईन् । विरुवा रोपेर मात्रै नहुने बताउदै संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा उनको जोड थियो । वडाबाट नै विशेष हेरचाह गर्ने र गाईबस्तु बाट विरुवालाई बचाउनुपर्ने चौधरीले बताईन् ।