© २०२३
पाल्पा, ११ साउन ।
युनाइटेड मिशन अस्पताल तानसेन पाल्पाले स्वास्थ्य बिमा बोर्डबाट सञ्चालित निःशुल्क विमा उपचार सेवा बन्द गर्ने अन्तिम तयारीमा जुटेको छ । अस्पतालको २०८० जेठ मसान्त सम्मको १९ करोड ४७ लाख ३६ हजार २ सय २१ रुपैयाँ स्वास्थ विमा बोर्डबाट लिनुपर्ने रकम समयमा नआएकोले सेवा बन्द गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेको अस्पतालकी निर्देशक रचेल कारकले बताईन् । साउन १४ गते भित्र रकम नआएमा विमाबाट गर्ने उपचार सेवा पूर्ण रुपमा बन्द गर्ने मिशन अस्पताल पाल्पाले जनाएको छ ।
स्वास्थ्य विमा बोर्डले १५ दिन दावी गरेको रकम भुक्तानी गर्ने सम्झौता गरेर २०७४ सालदेखि मिशन अस्पतालबाट विमा उपचार सेवा सञ्चालन गरेपनि हालसम्म नियमित रुपमा रकम भुक्तानी नभएको अवस्थामा अस्पतालले सेवा दिईरहेको भएपनि अवका दिनमा रकम भुक्तानी नभए सम्म सेवा दिन नसक्ने जनाएको छ । ६ बर्षदेखि स्वास्थ्य विमा बोर्डले उपचार शुल्क संमायोजन नगर्दा भुक्तानी पाएपनि सोही मूल्यमा अस्पतालले उपचार सेवा प्रवाह गर्न नसक्ने अवस्था रहेको अस्पताल निर्देशक रचेल कारकले बताईन् ।
हाल पाल्पामा युनाइटेड मिशन अस्पताल र पाल्पा अस्पताल, पाल्पा लायन्स लाकौल आँखा अस्पतालले विमा उपचार सेवा दिदै आएका छन । गत बर्ष साउनदेखि लुम्विनी मेडिकल कलेज पाल्पाले विमा उपचार सेवा बन्द गरेको थियो ।