© २०२३
काठमाडौं,१० साउन । प्रतिनिधिसभाको बैठक सुन तस्करी प्रकरणको बहसले गरमाएको छ । बुधबार प्रतिनिधिसभाको वैठकमा विपक्षी दलका नेताले मात्र होइन सत्ता पक्षकै सांसदले गृहमन्त्रीको जवाफ र राजीनामा मागेका छन् । नेकपा एमालेले सरकारकै संरक्षणमा एक क्वीन्टल सुन तस्करी भएको भन्दै छानबिनको माग गरेको छ । एमाले प्रमुख सचेतक पदम गिरीले भन्सारबाट पास भएको १०० किलो सुन राजश्व अनुसन्धान विभागले ३ साउनमा बरामद गरेको उल्लेख गरे ।
राजश्व अनुसन्धान विभागलाई सूचना प्राप्त हुँदा प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीलाई थियो कि थिएन ? अवश्य थियो– उनले भने, कर्मचारीको सेटिङले मात्र यस्तो सुन तस्करी भएको छैन ।’
पछिल्लो २३ महिनामा २० क्वीन्टलभन्दा बढी सुन तस्करी भएको दाबी गर्दै उनले यसको संरक्षण कसले गर्यो गृहमन्त्रीले गर्नु भएको हो कि होइन प्रधामन्त्रीले गर्नु भएको हो कि होइन ? अर्थमन्त्रीले गर्नु भएको हो कि होइन भन्ने प्रश्न गरे ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले जुन सुकै कोट वा टार होस् म कारबाही गर्छु भनेर जजनतामा भ्रम छरेको भन्दै उनले गृहमन्त्री अब कुर्सीमा बस्न कुनै पनि हिसाबले लायक हुनुहुन्न । अब कुन नैतिक धरातलमा त्यो पदमा बस्न सुहाउँछ भन्ने प्रश्न गरे ।
मन्त्रीहरुको सेटिङमा सुन तस्करी भएको दाबी गर्दै एमाले प्रमुख सचेतक गिरीले यसबारे छानबिन गर्न संसदले उच्चस्तरीय समिति बनाउनुपर्ने माग गरे । उच्चस्तरीय छाबिन हुने र जरासम्म पुग्ने सुनिश्चितता नभए संसद अघि बढ्न नसक्ने उनले बताए ।
कांग्रेस सांसद सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा गृहमन्त्रीले संसदमा चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका छन् । साथै उनले कुनै पनि प्रकरणको फाइल खोल्ने र गिजोलेर छाड्न काम गरे सरकारको दिनगन्ती सुरु हुने चेतावनी दिए ।
संसदको बुधबार बसेको बैठकमा समय लिएर बोलेका रास्वपा सभापति लामिछानेले १०० किलो सुन तस्करी प्रकरणमा मालिकसम्म किन पुगिएन भनेर प्रश्न गरे ।
‘भरिया मात्र समाउनु थियो होला र ट्याक्सी मात्र समात्यो होला’ सुन तस्करी सेटिङमा भइरहेको भन्दै उनले भने, भरियाले ट्याक्सीबाट मालिकसम्म पुर्याउँथ्यो होला नि, मालिकलाई नै कर्याप झ्याप पार्न सकिन्थ्यो होला नि त किन गरिएन भन्ने प्रश्न गरे ।
यो प्रकरणमा केही कर्मचारीको सरुवा मात्र गरिएको भन्दै उनले यो पुरस्कार हो कि कारबाही भनेर प्रश्न गरे । डामेर छोडेपछि सूचना लुकाउने अवसर मिल्ने भन्दै उनले गम्भीर हुन अनुरोध गरे ।
यसबारे आफूहरुले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको भन्दै लामिछानेले गृहमन्त्रीले गम्भीर रुपमा लिएर सदनलाई जवाफ दिनुपर्छ । कर्मचारी सरुवा गरेर टार्न पाइँदैन भने ।
भुटानी शरणार्थी, ललिता निवास जस्ता प्रकरणको जरा कहाँ छ भनेर सबैलाई थाहा भएको, तर सरकारले गिजोलेर मात्र छाड्ने गरेको उनले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेको संरक्षण गर्न खोजेको आशंका गरेका छन् ।
बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सुन तस्करीका विषयमा अहिले भइरहेको अनुसन्धान झारा टार्ने किसिमको मात्र भएको बताए ।
‘भरिया पक्रेर सुन तस्करीका नाइके संरक्षण गर्ने, हामीले यति काम त गर्यौं नि भन्ने काम नहोस्’ उनले भने, अहिले जुन ढंगले अनुसन्धान प्रक्रियाका नाममा झारा टार्ने काम भएको छ, यसरी हुँदैन, विशेष आयोग, छानबिन आयोग बनाएर अनुसन्धान अघि बढाइयोस् भन्न चाहन्छु ।’
नेपाल सुन तस्करीको ट्रान्जिट बनिरहेको भन्दै उनले अहिले पनि सरकारले थाहा पाएर सुन तस्करीमा संलग्नहरु पक्राउ नपरेको लिङ्देनले बताए ।
विमानस्थल भन्सारबाट १०० किलो सुन प्रवेश गराइनु सामान्य विषय नभएको भन्दै लिङ्देनले समाजलाई ठीक दिशामा ल्याउन यो घटनाको अनुसन्धान जरासम्म पुर्याउनुपर्ने बताए ।
‘भुटानी शरणार्थी, ललिता निवास प्रकरण र यी विषयमा जरासम्म पुग्नुपर्छ तर सरकार जरासम्म पुग्न तयार छैन– उनले भने ।