© २०२३
नवलपुर, १० साउन ।
पुर्वी नवलपरासीको बौदिकाली गाउँपालिका ६ मा जंगली च्याउ खाँदा सासू बुहारीको मृत्यु भएको छ ।
गत शुक्रबार स्थानीय जंगलमा पाइने च्याउ ल्याएर पकाएर खाएका बौदिकाली ६ माझडाँडाका सासू ९९ वर्षीया लिला आले र बुहारी ६६ वर्षीया उमाकुमारी आलेको मृत्यु भएको बौदिकाली गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष खुम बहादुर सारुले जानकारी दिए ।
जंगली च्याउ खाएका मध्ये सासू बुहारी सहित छोरी ललिता आले मगर, तारा आले र छिमेकी खगिरसार सिंजाली पनि विरामी भएकोमा अन्य उपचारपछि निको भएका छन् ।
बिरामी भएका लिला आले र उमाकुमारीलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो । उनीहरु दुवै जनाको बुधबार राति मृत्यु भएको स्थानीय नेत्रबहादुर सारुले बताए ।
“उपचारको क्रममा मंगलबार राति उमा कुमारी आलेको अस्पतालमा नै मृत्यु भएको हो” उनले भने, “लिला आलेलाई उपचार सम्भव नहुने भन्दै अस्पतालले फिर्ता गरेपछि मंगलबार राति घरमा मृत्यु भएको हो ।”
बिरामी भएका अन्य तीन जना स्थानीय स्वास्थ्य चौकीमा उपचार पछि निको भएर घर फर्किएको सारुले बताए ।
गत बर्ष पनि जंगलमा पाइने विषालु च्याउ खाएर स्थानीयको मृत्यु भएको र जगलमा पाईने विषालु च्याउ खाने चलन नरोकिएकाले बर्सेनि बिरामी हुने समस्या यथावत रहेको स्थानीय तारा पुलामीले बताए।