© २०२३
सल्यान, ९ साउन । अव्यवस्थित बिद्युतको तारका कारण सल्यानको कुमाख गाउँपालिकामा स्थानियहरु त्रसित बनेका छन् । अव्यवस्थित बिद्युतिकरणकै कारण दुई दिन अघि मात्रै कुमाख ३ मा पोलमा बिद्युत प्रवाह हुंदा एउटा गोरु मरेको छ । रागेचौर खोलिबजारमा ट्रान्सफर्मर राखिएको पोल छेउमा चर्दै गरेको गोरु करेन्ट लागेर मरेको हो ।
पोल छेउको घाँसमा चर्दै गरेको स्थानीय दल बहादुर बुढाथोकीको गोरु करेन्ट लाग्दा पोलमै टाँस्सिएर मरेको हो ।
यस्तो जोखिमपुर्ण अवस्था कुमाखका प्रायः सबै ठाउँमा रहेको स्थानियहरुले बताएका छन् । स्थानीय सरकार आएपश्चात दुइ बर्षमा नै विद्युत पुगेको रागेचौरमा अधिकांश विद्युतका पोल अव्यवस्थित रहेका छन ।
गाउँपालिकाको केन्द्रसम्म चाँडो बत्ती बाल्नलाई हतारमा गरिएको विद्युत विस्तारका कारण खोला छेउका खेतमा गाडिएका पोलहरु कमजोर हुदै बांगिएका छन । कुमाखका बस्तीहरु नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रबाट टाढा रहेकोले जिर्ण रहेका पोल र तारहरु समयमा मर्मत हुन सकिरहेका छैनन । यसबाट मानविय क्षतिसम्म हुनसक्ने भन्दै स्थानीयबासी त्रसित बनेका छन ।