© २०२३
बुटवल,८ साउन । प्रहरी प्रधान कार्यालय, नक्सालले इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक डीएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।
सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका केसीमाथि प्रहरी प्रधान कार्यालय, नक्सालले आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरितको कार्य गरेको देखिएको भन्दै जागिरबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार, प्रहरी प्रधान कार्यालयबाट भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी पत्र गइसकेपनि गृहबाट निर्णयबारे जानकारी आइसकेको छैन ।
बुटवलमा रहँदा डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद, ९ लाख ५० हजार रुपैयाँको चेक लगायत बरामद गरेको थियो ।
लगत्तै छानबिनका लागि तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको थियो । समितिले केसीलाई फौजदारी कसूर अन्तरगत छानबिन गर्न सिफारिस गरेपनि आन्तरिक छानबिन मात्र भएको थियो ।
प्रहरी प्रधान कार्यालयले गृहमा उनलाई बर्खास्त गर्न सिफारिससहित पत्राचार गरेको एक महिना पुग्न लागेपनि गृहले कुनै निर्णय गरेको छैन ।
शक्तिको आडमा गलत धन्दामा सक्रिय हुँदै आएका केसीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले गत पुस ११ गते पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कास्कीमा सरुवा भएका उनी अर्को दिन बुटवलबाट रमाना लिएर कास्की जाने तयारीमा थिए । बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको र सुन फिर्ता गर्न उनले व्यापारीसँग नगद रकम लिएको भन्ने सुराकीकाआधारमा सीआईबीले छानबिन गरेको थियो ।
स्थानीय व्यवसायी खिलेन्द्र जिसीले बोकेको झोलामा सुन फेला परेको थियो । जिसीसँग डीएसपी केसीको संलग्नता रहेको जानकारी आएपछि सीआईबीको टोलीले अनुसन्धान गर्दा ९ लाख ५० हजार रुपैयाँको चेक र ८ लाख ५० हजार नगदै फेला परेको थियो ।
केसीले आफूलाई तत्कालीन गृह मन्त्री बालकृष्ण खाँणको नजिकको भन्दै बुटवलका व्यवसायीसँग रकम असुली गर्दै आएका थिए । एक वर्ष अघि तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा रहेको अवैध कल सेन्टरसँग पनि १५ लाख रुपैयाँ माग गरेका थिए । त्यसको लेनदेनका कुरा नमिलेपछि छापा मारेर झण्डै १ सय ५० कर्मचारी पक्राउ गरेका थिए । त्यस्तै, बुटवलका अन्य केही व्यवसायी पनि केसीबाट पीडित भएको गुनासो गर्दै आएका थिए।
डीएसपी केसीले साउन १ गते तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिको विवादमा नगरपालिका परिसरमा वडा अध्यक्षलाई धकेलेर पौडी पोखरीमा फालिदिएका थिए । स्थानीय तहका जनप्रतिनिधले कारबाहीको माग गर्दा पनि उनी शक्तिकै आडमा जोगिएका थिए ।