© २०२३
बुटवल, ७ साउन । बुटवलको बिकास टोल नाम र ब्यवहारमा फरक छ । झट्ट सुनिएजस्तो टोल र टोलबासीलाई बिकासको गतिले छुन सकेको छैन । बुटवल उपमहानगरपालिकाको अब्यवस्थित तथा सुकुम्बासी बस्ती मानिने यही बसोबास गर्ने एक युवा असार २४ गते राति घर नजिकै मृत भेटिए । अहिले परिवार उनै युवाको न्यायका लागि गुहार गर्दैछन । आईतबार परिवारजनले पत्रकारलाई गुहार लगाएर निष्पक्ष छानबिन र न्याय दिलाउन आग्रह गरे ।
विकास पथ निवासी २० वर्षिय सुमन बिकको मृत्यु शंकास्पद भएको बुबा रस बहादुर बिकको दाबी छ । बिकका ३ जना छोरी र एक छोरा थिए । समाजमा सबैसंग घुलमिल हुने र सहयोगी स्वभावका उनि पारीवारिक अवस्था सुधार गर्ने उद्येश्यका साथ बिदेश जाने तयारीमा थिए ।
‘अस्ती भर्खर पासपोर्ट बनाएर विदेश जानको लागि छोडेर आएका थियौ ’—बुबा रस बहादुरले भने । साथिहरु मिलेर क्लबमा गएर फर्किएका उनी खाना आएर सुत्नेबेला फोन आएपछि पुनः राती १ बजे हिडेका थिए । ‘अनुप दाईको घरमा जान्छु भनेर हिडेको थियो ’—उनले भने – धेरै राती भयो नजाउ भन्दा पनि बोलाउनुभएको छ, म पुगेर आउछु भन्दै हिडेको बुबाले स्मरण गरे ।
त्यसपछि उनि फर्केनन । बिहान ६ बजे एक्कासि घर नजिकै युवा मृत भेटिएको भन्ने हल्ला सुनेर जादा उनि छागाबाट खसेजस्तो भए । उनि पत्याउनै सकेनन । प्रहरीले अन्त्येष्टी गर्नुस, अनुसन्धान हुदैछ भनेर आश्वासन दिएपछि आफुहरु त्यसै अनुसार गरेको भएपनि अहिले १५ दिन बित्दासमेत कुनै जानकारी नआउदा दुखी भएको बताए । पोष्टमार्टम गरेपछि हेर्दा छोराको शरिरमा ढाडतर्फ लौरोले हानेको चोट देखिएको उनले बताए । बयान लिने र छानबिनको काम अघि बढेको बताउने प्रहरीबाट कुनै जानकारी नआउदा आशंका उत्पन्न भएको उनले दुखेसो गरे ।
दिदी सुनिता बिकले आत्महत्या गर्ने प्रकृतिको भाई नभएको भन्दै हत्या नै भएको दाबी गरे । धेरै ठाउको सिसिटिभी फुटेज हेर्दा उनी सिद्धार्थ क्याम्पससम्म पुगेको स्पष्ट भेटिएको त्यसपछि भने तिनाउ झोलुङ्गे पुलबाट थप जानकारी नदेखिएको बताईन । मृत शरीर घर नजिक पक्की पुलमा भेटिनु र उसले लगाएको चप्पल भने झोलुङ्गे पुलमा भेटिएको हुदा पनि शंका बढेको उनले बताईन । हत्यारालाई छिटोभन्दा छिटो पत्ता लगाएर कारवाही गर्नुपर्ने उनको माग छ । प्रहरीलाई सिसिटिभी फुटेज उपलब्ध गराउने देखी आवश्यक जानकारी दिने काम गरेपनि कुनै प्रगती नदेखिएको हुदा राम्रो अनुसन्धान र छानबिन गर्न दबाब स्वरुप बिरोध कार्यक्रम गर्ने तयारीमा रहेको उनले बताईन ।
यता ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दान बहादुर थापाले यो घटनाको शुक्ष्म अनुसन्धान भएको बताए । मृतकको मोबाईल डाटाबाट साथीहरुसंग क्लबमा जाने देखी घर फर्किदासम्मका सबै कुराहरु भेटिएको उनले बताए । फेरि रातीको १ बजेपछि घर छोड्दा सिसिटीभि फुटेजमा अल्कोहल बढी लिएको हिड्न नसक्ने अवस्थामा देखिएको उनले बताए । परिवारबाट शंका भनिएजस्तो नदेखिएको र फोरेन्सिक चिकित्सकबाट आवश्यक जाच भएको उनले दाबी गरे । परिवारजनबाट भनेजस्तै भन्दा फरक केश भएको बताउछन । जहा उनको शव भेटिएको स्थान नजिक खुटा अड्किएको र डुबेको अवस्थामा भेटिएको उनले बताए । बाहिरी चोट पटक नदेखिएको उनले बताए । परिवारबाट आशंका गरेको ब्यक्तिहरुको अनुसन्धान भैरहेको उनले बताए । ज्यान सम्बन्धी भएकाले यसको हदम्याद बिसौ वर्षसम्म हुने तर्क उनले दिए । ‘कुनै ठोस प्रमाण भेटिए जतिबेला पनि मुद्या पर्न सक्छ’—उनले भने ।