© २०२३
काठमाण्डौ, ७ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी साधन अनुमति पत्रको (स्मार्ट लाइसेन्स) समस्या चाँडै समाधान गर्ने बताएका छन । आईतवार सार्वजनिक सवारीसाधनमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाई अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले लाइसेन्स स्मार्टकार्डको समस्या चाँडै समाधान गरि काम अघि बढाएको दाबी गरे ।
‘योसंगै स्मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्ने सरकारको तयारी रहेको छ ।’—उनले भने । यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र यात्रुमैत्री बनाउन ११ बुँदे घोषणा पत्र जारी गरिसकेको दाबी गर्दै उनले इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कुरामा पनि बेवास्ता गर्नु नहुने बताए । यातायात व्यवस्था कार्यालय, विभागमा झन्झट व्यहोर्नु नपर्ने, दुःख पाउनु नपर्ने कुरामा सरकारले पहल गरिरहेको भन्दै सार्वजनिक यातायातमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाई अभियानको शुरुवात महत्वपूर्ण रहेको बताए ।
चालक, सहचालकहरुले राम्रो व्यवहार र बोलीले नै यात्रुहरु खुशी हुने भन्दै यस अभियानबाट यात्रुमैत्री सार्वजनिक यातायात बनाउन मद्यत मिल्ने बताए । मन्त्री ज्वालाले चालक, सहचालकहरुको बोलीका कारण पनि कतिपय यात्रुहरुले झमेला व्यहोर्नुपरेको भन्दै यसमा यातायात व्यवस्था विभाग, महासंघले प्रशिक्षणका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए ।