© २०२३
काठमाडौँ, ५ साउन ।
सय किलो सुन ल्याउने समूहले तीन महिनायता १८ सय किलो सुन ल्याएको तथ्य भेटिएको छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सय किलो सुन नेपाल ल्याउनेले नै पछिल्लो तीन महिनामा १८ सय किलो सुन नेपाल भित्र्याएको पाइएको हो। सुन भित्र्याउने कम्पनीको यसअघिका कागजात हेर्दा बुधबार नेपाल सामान भित्र्याएकै मोडालिटीमा थप वस्तु ल्याएको पाइएको हो।
राजस्व अनुसन्धान विभागले भन्सारको सिस्टम समेत चलाउन पाउँछ। भन्सारमा उक्त कम्पनीले समान कति पटक कति परिमाणमा आएको र कस्तो वस्तु आएको हेर्न सुविधा छ।
राजस्व अनुसन्धान विभागलाई भन्सार र आन्तिरिक राजस्व विभागको प्रणालीमा पहुँच छ। सोही अनुसार विभागले सम्झौतासमेत गरेको छ।
भन्सारको प्रणाली हेर्दा गत ३ महिनादेखि सोही प्रकारको वस्तु ल्याएको भेटिएको हो। बुधबार रेडी ट्रेड प्रालिको नाममा मोटरसाइकलको ‘ब्रेक शु’ भनेर १ सय केजी सुन भित्र्याइएको पाइएको छ।
सोही कम्पनीले तीन महिनामा १८ सय किलो सामान भित्र्याएको कागजात फेला पारेको हो। बुधबार ठूलो परिमाणमा सुन फेला पारेपछि त्यसमा संलग्न १० जाना पक्राउ परेका छन्।
उनीहरूलाई निगरानी राखेर राजश्व अनुसन्धान विभागले अध्ययन गरिरहेको छ। सो अध्ययनको क्रममा थप सुनजस्तै वस्तु भित्रिएको देखिएको हो।
‘यो भन्दा पहिले पनि सोही प्रकृतिको वस्तु आएको देखिन्छ,’ विभागका एक अधिकारीले भने, ‘तर त्यो सुन थियो वा थिएन त्यसमा थप अध्ययन पछि थाहा हुन्छ।’
तर वस्तुको प्रकृति र आएको स्थानहरू हेर्दा सबै एकै प्रकारका छन्। प्रज्ञापन पत्रमा ब्रेक–सु, ब्रेक प्याड, इलेक्ट्रिक सामान उल्लेख छ। यसअघि भित्र्याएको समानको कुल तौल १८ सय केजी देखिएको विभागले बताएको छ। त्यसमा सुन हो वा होइन र सुन भएको खण्डमा यकिन कति छ भन्ने अध्ययनको क्रममा रहेको जानाएको छ।
बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको ठूलो परिणामको सुन भने नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखामै राखिएको छ।
बबरमहलस्थित राष्ट्र बैंक अन्तर्गतको टक्सार महाशाखामै केही समयको लागि सुन राखिएको महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिए।
उनका अनुसार सुनको थप परीक्षण गर्ने विषय अहिले अघि बढेको छैन। ‘त्यसको लागि राजस्व अनुसन्धान विभागको पत्र चाहिन्छ त्यो आएको छैन’, उनले भने। पत्र आएपछि सुनको गुणस्तर र यकिन परिमाण थाहा हुने उनले जानकारी गराए।