© २०२३
बुटवल, ५ साउन । उच्च अदालत तुलसीपुर बुटवल इजलासले एक बर्षमा ६०.३२ प्रतिशत मुद्दा फछ्र्यौट गर्न सफल भएको छ । गत आर्थिक बर्षमा विभिन्न प्रकृतिका ३ हजार ८ सय ८९ वटा मुद्दा बुटवल ईजलासमा दर्ता भएकोमा २ हजार ३ सय ४६ मुद्दा फछ्र्याैट भएका हुन ।
२ बर्ष माथिका पुराना मुद्दा शून्य बनाउने लक्ष्य सहित काम गर्दै आएको उच्च अदालत तुलसीपुर बुटवल ईजलासका न्यायाधीश नित्यानन्द पाण्डेले बताए ।
२ बर्ष भन्दा पुराना मुद्दा शून्य बनाउन सफल भएको भन्दै न्यायाधीश पाण्डेले भने हरेक बर्ष मुद्दाको संख्या भने थपिँदै गएको बताए । उनले फैसलाको दर समेत बढ्दै गएको भन्दै अदालतको संरचना, उही न्यायाधीश कर्मचारी दरबन्दी भएको कारण केही समस्या भएको बताए । तर उनले साविककै दरबन्दीमा पूर्णरूपमा तदारुकताका साथ काम गर्दा मुद्दा फैसलाको संख्या बढेको बताएका हुन ।
विगत ३ बर्षको तथ्यांक अनुसार बुटवल ईजलासमा हरेक बर्ष मुद्दाको संख्या बढ्दै गरेको छ । २०७७ /७८ मा २५ सय ७८ मुद्दा दर्ता भएकोमा १२ सय ८५ मुद्दा फछ्र्याैट भएका छन् । यस्तै १२ सय ९३ फछ्र्यौट गर्न बाँकी रहेकोमा २०७८/०७९ सालमा मुद्दा संख्या बढेर ३५ सय २४ पुगेको थियो । जसमध्ये १८ सय ७१ वटा मुद्दा फछ्र्याैट भएको थियो । यस्तै १६ सय ५३ मुद्दा हेर्न बाँकी रहेका थिए । २०७९ /०८० मा मुद्दाको संख्या बढेर ३८ सय ८९ पुगेको देखिन्छ । गत आथिक बर्षमा २३ सय ४६ मुद्दा फछ्र्यौट भएका छन् । १५ सय ४३ मुद्दा फछ्र्यौट गर्न बाँकी रहेको उच्च अदालत तुलसीपुर बुटवल इजलासले जनाएको छ ।
१२ जना न्यायाधिशको दरबन्दी रहेको भएपनि विगत लामो समयदेखि ८ जना मात्रै न्यायाधीशले बुटवलमा काम गर्दै आएका छन् ।
जनशक्ति अभावको कारण, जीर्ण भवन भएको कारणले गर्दा सोच अनुसारको लक्ष्य प्राप्त गर्न नसकिएको बुटवल ईजलासका रजिष्ट्रार अच्युत कुईकेलले बताउँछन् । उनी भन्छन्,‘पुरानो भबन जीर्ण साँगुरो भएकाले सोंचेजस्तो सेवा दिन सकिएको छैन ।’ उनले हालैमात्रै अदालतले भवन निर्माणको लागि जग्गा प्राप्त गरेको जानकारी दिँदै उक्त जग्गामा सुबिधासम्पन्न भवन निर्माण गरिने जानकारी दिए ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी कृष्णप्रसाद पौडेल सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाईको जानकारी दिँदै दुई बर्ष पुराना मुद्दा शुन्य हुनु आफैमा गौरवको विषय भएको बताउँछन् ।