© २०२३
सल्यान, ४ साउन । सल्यानको कुमाख गाउँपालिकामा चैते ५ जातको धानको परीक्षण सफल भएको छ । परीक्षणका लागि कुमाख गाउँपालिका २ मा चैते धान लगाइएको थियो । जिल्लाको कालिमाटी गाउँपालिकामा भने पहिलेदेखी नै चैते धान खेती हुँदै आएको छ ।
कुमाखमा धानका बाला राम्रो लागेकाले यो जातको धानको परीक्षण सफल भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सल्यानका हेमन्त रावतले जानकारी दिए । परीक्षणका लागि तीन रोपनी क्षेत्रफलमा लगाएको धानको उत्पादन वर्षे धानको भन्दा राम्रो उत्पादन भएको उनको भनाई छ ।
उनका अनुसार कुमाखमा प्रति हेक्टर पाँच मेट्रिकटन धान उत्पादन भएको र हावापानी, नदी किनार, पर्याप्त सिचाई सुविधा, मौसम अनुकूल हुँदा अपेक्षा भन्दा राम्रो उत्पादन भएको हो । धान जोन कार्यक्रम भएको कुमाखमा पहिलो पटक चैते धानको परीक्षण सफल भएको कार्यालयले जनाएको छ ।
वर्षे धान भन्दा चैतमा लगाएको धानको उत्पादन राम्रो भएको जनमैत्री कृषक समूहका अध्यक्ष कुमारी बुढाथोकीले जानकारी दिइन । वर्षामा मात्र धान लगाउँदै आइरहेकोमा चैतमा लगाएको धान वर्षामा लगाएको भन्दा पनि राम्रो फलेको उनको भनाइ छ ।