© २०२३
बुटवल, ४ साउन ।
एक सातादेखि फोहर नउठ्दा सिद्धार्थनगर क्षेत्र दुर्गन्धित बन्न थालेको छ । सडकमा यात्रा गर्ने यात्रु तथा स्थानीय बासिन्दाले फोहर उठाउनका लागि नगरपालिकाको पटकपटक ध्यानाकर्षण गराएपनि फोहर उठ्न सकेको छैन ।
स्थानीय घर तथा व्यावसायिक प्रतिष्ठानबाट निस्कने फोहोर संकलन गर्ने नगरपालिकाको गाडी एक सातादेखि संकलन गर्न गएको छैन । नगरले फोहोर व्यवस्थापन गर्दै आएको वडा नम्बर १ को डण्डाखोला नजिकको स्थानमा वडा नम्बर २ को बस्ती पर्ने भएकाले त्यहाँका स्थानीयले अवरोध गरेपछि फोहोर फाल्ने ठाउँ नपाएकाले संकलन हुन नसकेको फोहोर मानिसको घरघर, चोकचोक तथा मुख्य सडकमा छरपष्ट रहेको छ ।
धेरै दिन भएपछि फोहोरले बजार नै दुर्गन्धित बनाएको छ । मानिस ओहोरदोहोर गर्ने मुख्य सडकमा फोहोर थुप्रिएपछि उक्त सडकखण्डमा आवतजावत गर्नै समस्या भइरहेको स्थानीयको गुनासो छ ।
फोहोर संकलन र व्यवस्थापन गरिरहेको स्थानमा केही राजनीतिक व्यक्तिले स्थानीय जनतालाई अनेकथरी कुरा लगाई फोहोर फाल्न नदिने वातावरण बनिरहेको उपप्रमुख उमा अधिकारीले बताइन् ।
उनले विगतमा पनि नगरपालिकाको आफ्नो जमिन रहेको ओमसतियामा एडीबीले लगानी गरी फोहोर रिसाइक्लिङ प्लान्ट नै लगाउन खोज्दा समेत केही राजनीतिक व्यक्तिले काम हुन नदिएकाले रोकिएको र हाल स्थानीयले विरोध गर्नुमा विगतदेखिकै तुस रहिरहेको हुन सक्ने बताइन् ।
‘हामी वार्तामै छौं’, उनले भनिन्, ‘सकेसम्म अर्को स्थान खोज्छौं, हुँदै नभए स्थानीयलाई मनाउँछौं, फोहोर डम्प गर्नै नपाएकाले थुप्रिएको हो ।’ उपप्रमुख अधिकारीले यसप्रति पालिका गम्भीर रहेको पनि बताइन् ।