Butwal Today

सय किलो सुन बरामद प्रकरण : गृहमन्त्रीले बोलाए भन्सारका महानिर्देशकलाई

४ श्रावण २०८०, बिहीबार
अ+
अ-

काठमाडौं, ४ साउन ।

सय किलो सुन बरामद प्रकरणमा सोधपुछका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई बोलाएका छन्।

बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास गराई ट्याक्सीमा लाँदै गरिएको अवस्थामा अनुमानित सय किलो सुन विभागको टोलीले बरामद गरेको थियो।

सो घटनामा सोधपुछका लागि गृहमन्त्री श्रेष्ठले भन्सारका महानिर्देशक पौडेललाई आफ्नो मन्त्रालय बोलाएका हुन्। सय किलो सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बालाई निलम्बन गरिएको छ।

राजस्व अनुसन्धान विभागका एक अधिकारीका अनुसार भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गरिएको हो। उनीहरू सुनको भन्सार पासमा संलग्न देखिएकाले निलम्बन गरिएको विभागले जनाएको छ।

निलम्बित नायब सुब्बाकाे भने नाम खुल्न बाँकी छ।

बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको अनुमानित सय किलाे सुन विभागको टोलीले बरामद गरेको हो। सुनको परिमाण एकिन गर्ने भने बाँकी छ।