© २०२३
बुटवल, ३ साउन ।
बुटवल उपमहानगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुले गत आर्थिक वर्षमा नियमित सेवा दिए बापत पाउनुपर्ने यातायात खर्च वापतको रकम नपाएको गुनासो गरेका छन् ।
यसअघिका निर्वाचित जनप्रतिनिधिले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मासिक १ हजार रुपैयाँको दरले यातायात खर्च वापत उपलब्ध गराउन गरेको निर्णय पछिल्लो निर्वाचित जनप्रतिनिधिले कार्यान्वयन नगरेको भन्दै बुधवार उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका हुन् ।
महिला स्वास्थ्य स्वयंसेविका बुटवल उपमहानगरसमितिका अध्यक्ष रुक्मिणी भट्टराईले आफुहरुको सेवा सुविधाबारे यसअघिका जनप्रतिनिधिले निर्णय गरी २०७८ साल चैत २५ गते उपमहानगरपालिकाको राजपत्रमा समेत प्रकाशित भईसके पनि पछिल्लो एकवर्ष यता यातायात खर्च वापतको रकम पाउन नसकेको गुनासो गरिन् ।
भट्टराईका अनुसार बुटवलमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सेवा अवधिभरी यातायात खर्च वापत मासिक १ हजारका दरले एकवर्षको १२ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको थियो । त्यस्तै अवकाश भएर जाँदा ५ वर्षसम्म काम गरेकोलाई वार्षिक ५ हजार, ५ देखि १० वर्षसम्मकोलाई वार्षिक ७ हजार, १० देखि १५ वर्षसम्मकोलाई वार्षिक ८ हजार, १५ देखि २० वर्षसम्मकोलाई वार्षिक ९ हजार र २० वर्षदेखि माथिकोलाई वार्षिक १० हजारका दरले अवकाश वापतको एकमुष्ट रकम दिने उपमहानगरको कार्यपालिकाले निर्णय गरेको थियो ।
उक्त निर्णयलाई नगर कार्यपालिकाको २०७८ चैत २५ गतेको राजपत्रमा समेत प्रकाशित गरिएको थियो । तर उपमहानगरपालिकाले यातायात वापतको रकम समेत नदिएको भट्टराईले बताईन् ।
उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले मासिक पाउनुपर्ने यातायात वापतको रकम किन रोकिएको हो लेखा शाखासँग बुझ्ने बताए । अवकाशपछि एकमुष्ट उपलब्ध गराउने सुविधाको विषयमा भने यसअघिका जनप्रतिनिधिले आफु जाँदाजाँदै गरेको निर्णय भएकोले थप अध्ययन गरेर मात्रै अगाडि बढिने बताए ।