© २०२३
बुटवल,१ साउन । लुम्बिनी प्रदेशका तीन जिल्लासहित ७ प्रदेशका २१ जिल्लामा ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सुरु भएको छ । लुम्बिनी प्रदेशका रूपन्देही, दाङ र बाँके सहित सात वटै प्रदेश मातहतका २१ वटा जिल्लाहरूमा ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर संचालनमा आएको नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले जनाएको छ ।
सवारी नियम उल्लंघन कसूरहरूको जरिवाना वापत राजश्व संकलनलाई प्रदेशगत रूपमा बैंकिङ प्रणालीमा जोड्ने योजना अनुरूप उक्त सिस्टम संचालन गरिएको हो । उक्त सिस्टम कोशी प्रदेशका सुनसरी, मोरङ र झापा, मधेश प्रदेशका सिरहा, पर्सा र महोत्तरी, बागमती प्रदेशका सिन्धुली, काभ्रे र मकवानपुरमा लागू गरिएको छ । यसैगरी गण्डकी प्रदेशका कास्की, तनहुँ र नवलपरासी पूर्व, कर्णाली प्रदेशका सुर्खेत, सल्यान र दैलेखमा सुरु गरिएको छ । सुदूरपश्चिम प्रदेशका कैलाली, कंचनपुर र डोटी जिल्लामा लागू भएको नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले जनाएको छ ।