© २०२३
बुटवल, १ साउन । बुटवलको देविनगरकी तुलसी भण्डारीको उमेर ६ दशक पुरा भयो । उनको पुरानो घर पाल्पाको रानीमहल नजिकै हो । उनलाई पछिल्लो समयमा आएका परिवर्तनहरू चित्त बुझेकै छैन । विकाससँगै समयले परिवर्तन ल्याए पनि पुराना कुराहरू हराउँदै जाँदा उनलाई चित्त नबुझेको हो ।
साउनको पहिलो दिन विहानै उठेर तुलसीको मठ नजिकै स–साना दाउरा प्रयोग गरेर भलायोको पातले छापेर तयार गरिएको कटेरोमा बेलुका ‘मेरो लुतो लैजा’ भन्ने गरिएको दिन अहिले पुरानो पुस्ताको लागि एकादेशको कथा जस्तै भएको छ ।
तिलोत्तमानगरकी सिता थापा पनि उमेरका हिसाबले सात दशक पुरा गरिन । बिहान सुर्योदय अगाडि नै आफ्नो घरमा पुजा गरेको भलायोको पातमा कुरिलो राखेर घरको दलिन मुनि राखिदिएर पण्डित फर्किएका देखेकी सिताले लुतो फाल्नका लागि तिल, जौ, मास लगायत अन्य गेडागुडी अमिलो फलफूल राखेर पूजा गरेर बेलुुका आफ्नो घर नजिकैका समकक्षी साथीको नाम लिएर बलेको दाउरा हातमा लिएर ‘मेरो लुतो लैजा’ चिच्चाएर भन्ने गर्दा बेग्लै रमाईलोको अनुभूति हुन्थ्यो । तर त्यस्ता दिन अब कहिल्यै नफर्किने उनले भनिन् ।
त्यसै दिन बेलुका खाना खाई सके पछि हात, खुट्टामा घर वरिपरि उम्रेको तिउरी लगाउने प्रचलन थियो । यस्ता क्रियाकलाप बालकदेखि बृद्धसम्मले लुतो फाल्ने चलन थियो । हातमा तिउरी लगाउने यो बयस्क र बालबालिकाको बीचमा प्रतिस्पर्धा नै हुन्थ्यो ।
देविनगरकी शन्ति अर्याल आफू सानो उमेरको हुँदा गाउँ भरिका साथीहरू मिलेर तिउरीको पात खोजेर ठूलो ढुंगामा पिसेर लगाउँदा निकै रमाइलो हुने गरेको बताईन । उनले तिउरी हातमा गाढा होस भनेर जंगलमा पाइने मोहरकाचुली (अमिलो चीज) लगाएर गाभाको पातले छोप्दाको रमाईलो अनुभूति अब कहिल्यै नपाईने बताईन ।
उनी भन्छिन्–खासमा यो महिलालाई त्यसबेला असारको हिलो सकिएर चाडवाड शुरुको संकेतका रूपमा आफुहरूले लिने गरेको बताईन तर आजभोली नचाहिने संस्कृतिको विकास भएर हरियो कपडा हरियो चुरामा पछिल्लो पुस्ताका महिलाहरूले धेरै खर्च गरेको बताउछिन् । उनले पछिल्लो दश बाह्र वर्ष यता साउनमा हरियो चुरा र हरियो कपडाको प्रचलन आएको छ । तर यतिखेर बजामा सबै चुरा पसलहरू हरियो चुराले भरिभराउ छ । बच्चा देखि पाको उमेरका सबैले हरियो चुरा हरियो कपडा लगाउने चलन छ । तर यो धार्मिक र सास्कृतिक मुल्य र मान्यता अनुरूप नभएको उनको बुझाई छ । चुरा र हात भरी महेन्दीले लगाउने चलन आएको छ । यो हाम्रो संस्कार र सस्कृति भित्र पर्दन ।
धार्मिक मुल्य र मान्यता अनुरूप साउनको पहिलो दिन विहान कण्डारक ऋृषिको पुजा गर्ने बेलुका लुतो फाल्ने यसरी बलेको दाउरा फ्याक्दा वर्षायाममा फोहरका कारणले लाग्ने आउ, हैजा, विफर,लुतो खटिरा जस्ता महामारी जन्य रोग लाग्दैन भन्ने धार्मिक जनविश्वासका कारण लुतो फालिने चलन आएको संस्कृतिका जानकार भीमकान्त पन्थी बताउँछन् ।
धार्मिक मान्यता अनुसार साउनको महिनामा भगवान शिव जीको पुजा गर्ने चलन छ । तर भगवानको नाममा हरियो चुरा लगाउने होईन यो त पछि आएको सभ्यता र सँस्कृति हो । हाम्रो परम्परा र मान्यता अनुसार तिउरी लगाउने हो । यसको बैज्ञानिक महत्व र कारण फरक छ । वर्षयाममा खेतमा काम गर्दा हिलोले हात खुट्टा खाने हुदा यस्ता समस्याबाट जोगिन सहयोग गर्दछ । यहि कारणले तिउरी लगाउने चलन हो । तर आजभोली त्यसको विकल्पमा बजारमा पाईने मेहेन्दी लगाउने चलन छ । धार्मिक मान्यतालाई पछिल्लो पुस्ताले त्यसलाई तोडमोड गरिदिएको पन्थीको भनाई छ । नयाँ पुस्ताले पुराना संस्कृतिलाई छोड्दै सजिलोका लागि बिकृति नै ल्याए । जसले गर्दा अबको पुस्तालाई विगतको संस्कृति एकादेशको कथा जस्तै हुन्छ उनले भने ।
व्यवसायीहरू भने साउनको महिनामा मात्रै हरियो चुराको बिक्रि हुने गर्दछ अन्य समयमा अरू रंगको चुराको तुलनामा हरियो चुरा कमै बिक्रि हुने गरेको बताउँछन् । धार्मिक आस्था र विचार भन्दा चलन चल्तीका कारण भन्दा पछिल्लो समयमा पछिल्लो पुस्ताले सजिलोका लागि प्रयोग गर्ने गरेकाले बिक्रि बढेको उनीहरूको भनाइ छ ।