© २०२३
बुटवल, ३१ असार सशक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरि मनाएको छ । नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आईतबार बुटवलमा भएको रक्तदान कार्यक्रमको राष्ट्रिय सहकारी महासंघ नेपालका भिम तुलाचनले ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरे ।
सहकारीमार्फत देशमा आर्थिक क्रान्ति ल्याउन सफल भएको उनले दाबी गर्दै उनले पछिल्लोसमय केही सिमिति सहकारीकै कारण समग्र सहकारी बदनाम बन्नुपरेको दुखेसो गरे । सहकारी संस्था समाजकै अंग भएकाले पनि सामाजिक हितमा समेत अगाडी रहेको उनले बताए । ‘सहकारी संस्थाहरु सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि अगाडी छन ।’—उनले भने ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव तथा संस्थाका अध्यक्ष कृष्ण चौहानले सहकारी नाम अनुसार नै सशक्त रहेको बताए । सहकारी भावनासंगै सामाजिक उत्तरदायित्वको क्षेत्रमा समेत योगदान दिदै आएको उनले बताए । हाल संस्थामा १ हजार १ सय शेयर सदस्य रहेको तथा ३० करोड रुपैयाको आर्थिक कारोबार गर्दै आएको उनले बताए ।
हाटबजारमा दैनिक ब्यवसाय गर्दै आएका ब्यवसायीहरुबाट स्थापना भएको संस्थाबाट थोरैथोरै रकम बचत गर्दै सहकारीका रुपमा विकास गरेको संस्थाका सचिव ईश्वरी प्रसाद पोखरेलले बताए ।
कार्यक्रमका संयोजक कृष्णप्रसाद पौडेलले ५३ युनिट रगत संकलन भएको बताए । रक्तदाताहरुलाई राष्ट्रिय सहकारी महासंघ नेपालका भिम तुलाचन, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव तथा संस्थाका अध्यक्ष कृष्ण चौहान, संस्थाका सचिव ईश्वरी प्रसाद पोखरेल, कार्यक्रमका संयोजक कृष्णप्रसाद पौडेलले प्रमाणपत्र वितरण गरेका थिए ।