© २०२३
बुटवल, ३० असार ।
पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ जानकीनगरले २०७९ सालको एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ ।
एसईई परीक्षामा ३.८ जिपिए ल्याउन सफल रिया थापालगायत २८ जना विद्यार्थी, तिनका अभिभावक तथा शिक्षक शिक्षिकाहरुलाई पामिरले सम्मान गरेको हो ।
विद्यार्थीहरुलाई सम्मान गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन चापागाईंले विद्यार्थीहरुलाई आगामी शैक्षिक यात्राको सफलताको शुभकामना दिंदै पामिरले हरेक वर्ष ल्याएको नतीजा हासिल गर्दै आएको बताए । पामिरले शिक्षण सिकाईसँगसँगै व्यावहारिक सिकाईलाई पनि जोड दिंदै आएको उनले बताए । उनले विद्यार्थी केन्द्रित सिकाई विधिबाट पठनपाठनलाई जोड दिंदै आएको, प्रविधितर्फ विद्यार्थीलाई केन्द्रित गरेको, अतिरिक्त क्रियाकलापमा जोड दिएको र गुणस्तर सुधारमा विद्यालयले उल्लेख्य प्रगति हासिल गरेको बताए ।
विद्यालयका प्राचार्य गोपाल गौतमले जिपिए फोर मात्रै ठूलो कुरा नभएको भन्दै विद्यालयमा विद्यार्थीले कस्तो ज्ञान र शिक्षा हासिल गर्छन् भन्ने कुरा महत्वपूर्ण रहेको बताए । उनले विद्यार्थीहरुको आगामी शैक्षिक यात्राको शुभकामना समेत दिए ।
त्यस अवसरमा विद्यालय व्यवस्थापन समिति सदस्यहरु वसन्त जोशी, संगीता गौतम, विद्यालयका परीक्षा संयोजक नविन शाक्यलगायतले पनि बोल्नुभएको थियो ।