© २०२३
बुटवल,२९ असार । बुटवल १२ मा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र ढवाहामा केन्द्रका स्वास्थ्यकर्मी, कर्मचारी तथा टोलविकास संस्थाका अगुवाले सरसफाइ गर्दै वृहत् वृक्षरोपण गरेका छन् ।
वडाका जनप्रतिनिधि, स्थानीय तथा प्रवर्द्धन केन्द्रका स्वास्थ्यकर्मी र कर्मचारीहरूले सरसफाइ गर्दै विभिन्न फलफुलका बिरुवा रोपिएको जनस्वास्थ्य निरीक्षक सिद्धार्थ आचार्यले जानकारी दिए ।
सरसफाइ कार्यक्रमका संयोजक तथा जनस्वास्थ्य निरीक्षक सिद्धार्थ आचार्यको संयोजनमा भएको कार्यक्रममा वडा सदस्य गंगादत्त पौडेल, जनस्वास्थ्य अधिकृत मोहन मिश्र, टोल विकास संस्थाका अध्यक्ष नन्दलाल सुवेदी, स्वास्थ्यकर्मी तथा कर्मचारी र महिला स्वयमसेविकाहरुले सामूहिक रुपमा सरसफाइ र वृक्षरोपण गरेका थिए ।
स्वास्थ केन्द्र रहेको खाली परिसरमा झाडी फाँडेर सरसफाइ गर्दै एक सय ५० भन्दा धेरै फलफुलका बिरुवा रोपिएको निरीक्षक आचार्यले जानकारी दिए ।
आँप, कटहर, अम्बा, लिची, अनार, कागतीलगायतका विभिन्न प्रजातिका विरुवा परिसरमा रोपिएको छ ।
उक्त केन्द्रमा ओपीडी सेवा, ल्याब, एक्सरे, गर्भवती जाँच, खोप सेवा, आयुर्वेदिक सेवा, सामान्य चिरफारलगायतका प्राथमिक स्वास्थ्य उपचारको प्रबन्ध छ । जनस्वास्थ्य अधिकृतको नेतृत्वमा यहाँ डाक्टर सहित ८ जना स्वास्थ्यकर्मीले सेवा दिंदै आएका छन् । यहाँ दैनिक ४० जना भन्दा धेरै सेवाग्राहीले सेवा लिंदै आएको जनस्वास्थ्य निरीक्षक सिद्धार्थ आचार्यले जानकारी दिए ।