© २०२३
बुटवल, २७ असार बुटवलमा जारी तेस्रो रुपन्देही कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक फुलबारी गाईज र ब्रदर्श एफसी बिच खेल हुने भएको छ ।
फुलबारी गाईज बुटवलको आयोजना तथा रानीगंजा युवा क्लबको सहआयोजनामा रानीगंजा खेलमैदानमा मंगलबार भएको पहिलो सेमीफाईनलमा नवशान्ति एफसीलाई १—० गोलले पराजित गर्दै आयोजक फुलबारी फाईनलमा स्थान बनाएको हो । फुलबारीको जितमा आमोस पुनले दोस्रो हाफमा एकमात्र गोल गरे । खेलमा फुलबारी गाईजका मनोज श्रेष्ठ म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
दोस्रो खेलमा सैनिक एफसी निर्धारित समयमा मैदान प्रवेश नगरेपछि वाकओभर पाएर ब्रदर्श एफसी फाईनलमा पुगेको हो । फाईनल खेल बिहिबार हुने क्लबका अध्यक्ष अर्जुन गुरुङले बताए । प्रतियोगितामा विजेता टिमलाई नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने महासचिव तेजु राना मगरले बताए ।
असार १६ गतेसम्म शुरु भएको प्रतियोगितामा ३१ टिमले भाग लिएको खेल संयोजक यम ब. सिङ्जाली मगरले बताए ।