© २०२३
कपिलवस्तु, २७ असार– तिलौराकोट साझेदारी वन उपभोक्त समूह कपिलवस्तुले कार्यक्षेत्रका उपभोक्तालाई निःशुल्क बिरुवा बितरण शुरु गरेको छ । जिल्लाको पाँच वटा पालिकाका बिभिन्न वडामा कार्यक्षेत्र रहेको समूहले आँप र कागतीको बिरुवा बितरण गर्न थालेको हो ।
समूहको कार्यालय रहेको चेतरादेहीबाट मंगलबार बिरुवा बितरण शुरु गरिएको हो । समुहका अध्यक्ष जय प्रकाश पाण्डेय, सदस्य बलराम तिवारी, चेतरादेही सव वन डिभिजनका सहायक वन अधिकृत प्रेमीलाल प्रसाद साहले उपभोक्तलाई निशुल्क बिरुवा बितरण गरेका हुन ।
समुहले उपभोक्तालाई नागरिकताका आधारमा प्रति व्यक्ति ५ वटा बिरुवा निशुल्क उपलब्ध गराएको तिलौराकोट साझेदारी वन उपभोक्ता समूहका सदस्य बलराम तिवारीले जानकारी दिए । निजी वनलाई प्रबद्र्धन गर्नका साथै बातावरणमा सुधार ल्याउन बिरुवा बितरण सहयोगी हुने सहायक वन अधिकृत प्रेमीलाल प्रसाद साहले बताए । उपभोक्तालाई आम्रपाली, दशहरी, बम्बई, जर्दा र च्याउसे जातका ७ हजार ५ सय बिरुवा आँप र सुन कागती ६ हजार बितरण गरिने जनाइएको छ ।
समूहले खाली स्थानमा बृक्षरोपण गर्न तथा फलफूल लगाउने कार्यमा उत्प्रेरित गर्न हरेक बर्ष फलफूलका बिरुवा बितरण गर्दै आएको साझेदारी वन समूहका अध्यक्ष जयप्रकाश पाण्डेयले जानकारी दिए । तिलौराकोट साझेदारी वन ६ हजार ६ सय १२ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
जसबाट २२ हजार ६ सय २२ घरधुरीका करिब डेढ लाख जनसंख्या लाभान्वित हुँदै आएका छन । आर्थिक बर्ष २०६८÷६९ मा बैज्ञानिक वन व्यवस्थापनको कार्ययोजना स्वीकृत गरि काम गर्दै आएको साझेदारी वनले वनको पहुँचमा नरहेका वन भन्दा टाढाका उपभोक्तालाई वनसँग जोड्दै आएको छ ।