© २०२३
बर्दघाट, २७ असार– इलाका प्रहरी कार्यालय अस्थायी ट्राफिक प्रहरी पोष्ट बर्दघाटले पूर्व पश्चिम राजमार्गको बर्दघाट बजार खण्डमा इ-रिक्सा र तिनपांग्रे अटो चलाउन रोक लगाएको छ ।
बर्दघाट त्रिवेणी चोकबाट चिसापानी चोकसम्म राजमार्गको करिब २ किलोमिटर बजार क्षेत्रमा इ-रिक्सा चलाउन रोक लगाइएको ट्राफिक प्रहरी पोष्टका प्रमुख प्रहरी नायव निरिक्षक कृष्ण पाण्डेले जानकारी दिए । अहिले पूर्व पश्चिम राजमार्ग स्तरोन्नतीको क्रममा रहेको र दुर्घटनाको उच्च जोखिम समेत बढेको बताउँदै बजार क्षेत्रको राजमार्गमा इ रिक्सा चलाउन रोक लगाइएको पाण्डेको भनाइ छ । ‘बर्दघाट बजार भित्र शाखा सडकबाट गन्तब्यमा पुग्न कठिन नभएकोले पनि चालकहरूलाई शाखा सडकबाट सवारी चलाएर गन्तब्यमा पुग्न भनेका छौँ’ पाण्डेले भने ।
राजमार्गमा गुडेका इ रिक्सालाई नियन्त्रणमा लिइ चालकलाई सचेत गराइ छाडिने गरेको उनले बताए । विगत ४ वर्षदेखी बर्दघाट क्षेत्रमा इ रिक्सा चलाउँदै आएका खडक बहादुर चौधरीले दुर्घटना न्युनिकरणको लागि प्रहरीले चालेको कदम उचित भएपनि पूर्वसूचना नहुँदा गाह्रो परेको बताए ।
असार २५ गतेबाट अभियान सुरु गरेको ट्राफिक प्रहरीले एक सातासम्म सचेत गराउने र त्यसपछि पनि अटेरी गरेमा कारबाही गर्ने ट्राफिक प्रहरी सहायक निरिक्षक बालकृष्ण पन्थले बताए । राजमार्गमा इ–रिक्सा र तिनपांग्रे सवारी नगुड्दा ट्राफिक ब्यवस्थापनमा सहज हुने र दुर्घटना हुने सम्भावना पनि कम हुने पन्थले बताए ।