Butwal Today

विद्यालयको होस्टेलमा मन्त्री छिरेपछि…..!

२३ असार २०८०, शनिबार
अ+
अ-

बुटवल, २३ असार ।

रोल्पाको माडी गाउँपालिकाका बिशाल पुन मगर शनिबारको दिन नुवाईधुवाई गरेर होस्टेलको आफ्नो कोठामा ओछ्यानमा पल्टेर पुस्तक पढिरहेका थिए । त्यहीबेलामा एकजना अपरिचित युवा उनको कोठामा पसेर “के छ बाबु ? पढाई चलिरहेको छ ?” भनेर एक्कासी सोध्दा झसंग भए । तेश्रो तलामा रहेको होस्टेल भित्र होस्टेल वार्डेन, कर्मचारी, विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्ष बाहेक अरु नयाँ व्यक्ति विरलै पुग्ने भएकोले कोठामा नयाँ मान्छे देख्दा उनी एकछिन अलमलमा परे ।

मन्त्रीले सन्चो बिसन्चो र पढाईको बारेमा सोधेपछि विशालले उठेर सोधेका कुरा खुरुखुरु बताए । कोठामा प्रवेश गरेको मान्छेले होस्टेलमा कुनै समस्या वा आवश्यकता छ कि भनेर सोध्दा उनी के भन्ने भनेर केहीबेर अकमक्क परे । उनी अलमलमा परेको देखेर कोठामा प्रवेश गरेको युवाले आफु लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्री भएको भएको बताए ।

“हाम्रो बारेमा सोध्न मन्त्री आउलान भन्ने सोचेको पनि थिइन, एक्कासी मन्त्रीलाई अगाडि देख्दा के भने भन्ने भयो”– मगरले भने ।

नयाँ मान्छे देख्दा विशाल जस्तै होस्टेलमा बसिरहेकी किरण थापा अचम्ममा परेकी थिइन् ।. आमा बुवा गुमाएकी थापा गुल्मी धुर्कोटबाट कालिका मानवज्ञान माविमा आएर विद्यालयको होस्टेलमा बसेर कक्षा ५ मा अध्ययन गरिरहेकी छन् । होस्टेल वार्डेन सहित मन्त्री कोठामा पुग्दा उनले गृहकार्य गरिरहेकी थिइन् । नयाँ मान्छे कोठामा पस्दा अलमलमा परेकी उनले पछि मन्त्री आएको थाहा पाएपछि होस्टेलको सेवा सुविधा र पढाईको बारेमा बताएकी थिइन् ।

“मैले त कालिकाको होस्टेलमा निःशुल्क बस्न र विद्यालयमा अध्ययन गर्न पाएकी छु. तर म जस्तै अनाथ र द्वन्द्वपीडित सयौ बालबालिकाहरु छन् । प्रदेश सरकारले विद्यालयको होस्टेललाई अझ सहयोग गरेर मजस्तै धेरै बालबालिकालाई शिक्षाको अवसर दिलाउनुस् मन्त्रीज्यू”– उनले मन्त्रीलाई अनुरोध गरिन् ।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता शनिबार कालिका मानवज्ञान माविको निरीक्षणमा जाँदा विद्यालयले अनाथ, असहाय, द्वन्द्वपीडितको लागि सञ्चालन गरेको निःशुल्क होस्टेल अवलोकन गर्न पुगेका थिए । होस्टेलमा उनले विद्यार्थीहरुसँग बेग्लाबेग्लै भेटघाट र सामूहिक अन्तत्र्रिmया गरेका थिए । विद्यार्थीहरुले विद्यालयको होस्टेलमा निःशुल्क बस्न, लगाउन र निःशुल्क पढ्न पाएकोमा खुशी लागेको भएपनि विद्यालय पछिको उच्च शिक्षा कसरी हासिल गर्ने भन्ने चिन्ता लागेको बताएका थिए । केही विद्यार्थीहरुले भने मन्त्री गुप्तासँग खेलकुदका सामग्रीहरुको माग गरेका थिए ।

होस्टेलमा पुगेका मन्त्री गुप्तालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यालयको शैक्षिक अवस्था, विद्यालयले गरेका असल अभ्यास र भावी योजनाहरुको जानकारी गराएका थिए । उनले कालिकामा अनाथ, असहायको लागि संचालित निःशुल्क छात्राबासको क्षमता विस्तार गर्न र दिगो बनाउनको लागि प्रदेश सरकारले दीर्घकालीन श्रोतको सुनिश्चितता गरिदिनको लागि मन्त्रीलाई आग्रह गर ।.

सबैको कुरा सुनेपछि मन्त्री गुप्ताले सामाजिक विकासको आधार शिक्षा भएकोले सार्वजनिक शिक्षालाई सबैको पहुँचमा पु¥याउन र गुणस्तरीय शिक्षाको सुनिश्चितताको लागि आफुसँंग योजनाहरु भएपनि बजेटको सिमितता, कानूनी अड्चन र प्रशासनिक झन्झटले तत्कालै परिणाम देखिने गरी काम गर्न नसकेको बताए । उनले कालिका मानवज्ञान माविले गरेका असल अभ्यासहरुको प्रशंसा गर्दै विद्यालयले लुम्बिनी प्रदेशलाई नेपालको शैक्षिक क्षेत्रमा चिनाउने काम गरेकोले विद्यालयको विकासको लागि प्रदेश सरकारको तर्फबाट सबै किसिमको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

दुई घण्टा विद्यालयमा विताएका मन्त्री गुप्ताले आधाजसो समय होस्टेलका विद्यार्थीहरुसंग भेटघाट, कुराकानी र छलफलमा बिताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?