© २०२३
कपिलवस्तु, २१ असार सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा राष्ट्रिय बाणिज्य बैङ्कको एक्टेन्सन काउण्टर सञ्चालनमा ल्याईएको छ । सेवाग्राहीलाई राजश्व सम्बन्धि सम्पुर्ण सेवा प्रवाह गर्ने उद्धेश्यले राहदानी फाँट रहेको भवनमा काउण्टर सञ्चालनमा ल्याईएको हो । कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल र प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले संयुक्त रुपमा रिबन काटेर काउण्टरको उदघाटन गरे । काउण्टर सञ्चालनले राहदानीको राजश्व दाखिला, गैरसरकारी संघ संस्थाको राजश्व रकम दाखिला, हातहतियारको नविकरणको राजश्व दाखिला गर्ने कार्य सहज हुने सहायक प्रजिअ अनिल कुमार पौडेलले बताए ।
देशभर २ सय ७२ शाखा रहेको राष्ट्रिय बाणिज्य बैङ्कले ६५ औं एक्सटेन्सन काउण्टरको रुपमा सो काउण्टर सञ्चालनमा ल्याएको हो । बिभिन्न राहदानी सहितको सेवाको राजश्व, बजार अनुगमनको क्रममा उठाउनु पर्ने जरिवाना, नापि र मालपोत कार्यालयको राजश्व भुक्तानीमा समेत काउण्टर स्थापनाले सहयोग गर्ने बिश्वास लिइएको छ । प्रजिअ नेतृत्वको टोलीले प्रशासन कार्यालयबाट दिने सेवा प्रवाहलाई सहज बनाउन सार्वजनिक बिदाको दिन सेवा दिने, सेवाग्राहीको चाप हुदाँ बिहानी र बेलुकी सेवा प्रवाह सहितका नौलो काम गरेर सेवाग्राहीलाई राहत दिएको ऐमालेका महाराजगंज नगर अध्यक्ष निजाम खाँले बताए । काउण्टर सञ्चालनले बित्तिय सुशासन र आर्थिक अनुशासन कायम गर्न सहयोग पुग्ने कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुका प्रमुख भिमार्जुन ज्ञवालीले बताए ।
सेवाग्राहीलाई एकिकृत सेवा प्रवाह गर्ने उद्धेश्यले जिल्ला प्रशासन कार्यालयमा बैङ्कको एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याईएको कपिलवस्तुका प्रजिअ शंकरहरी आचार्यले जानकारी दिए । प्रशासनमा सेवाग्राहीको सहजताका लागि सेवा प्रवाह चुस्त दुरुस्त बनाउन प्रयास गर्दै आएको र हुलाक टिकटको सेवा र बैङ्कको काउण्टर राख्ने कार्य पुरा गरिएको प्रजिअ आचार्यले प्रष्ट्याए ।
प्रजिअ आचार्यले जिल्ला आए पछि सेवा प्रवाहमा सुधार गरेर प्रशासनको सेवाप्रवाह चुस्त र दुरुस्त बनाएको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले बताए । “बिगतमा राहदानीको फारम भर्दा धेरै पैसा तिर्नु पर्ने गुनासो आउने गरेको थियो । सिडियो सापले प्रशासन भित्र बाटै निशुल्क अनलाईन फारक भर्ने व्यवस्था गर्दा सर्वसाधारणलाई राहत पुगेको छ ।” नगर प्रमुख पौडेलले भने । तत्कालका लागि राजश्व सम्बन्धि सम्पुर्ण कार्य गरिने र आगामी दिनमा बैङ्किगं सिस्टम ल्याएर बैङ्कबाट दिईने सेवा प्रवाह गरिने राष्ट्रिय बाणिज्य बैङ्क तौलिहवा शाखाका प्रबन्धक अर्जुनराज काफ्लेले जानकारी दिए ।
राष्ट्रिय बाणिज्य बैङ्कको कपिलवस्तु जिल्लाको तौलिहवा, जितपुर र चन्द्रौटा ३ वटा शाखा छन । त्यसै गरि बुद्धभुमी नगरपालिकामा मात्रै एक्टेन्सन काउण्टर रहेकोमा अब काउण्टरको संख्या २ वटा पुगेको छ । प्रशासन कार्यालयमा शुरु भएको काउण्टरबाट बार्षिक २० हजार बढि सेवाग्राहीले सेवा लिने अनुमान गरिएको छ । काउण्टरले शनिबार बाहेकको सार्वजनिक बिदाको दिनमा सेवा प्रवाह गर्ने जनाईएको छ ।