© २०२३
चन्द्रौटा(कपिलवस्तु), १९ असार । कपिलवस्तुको शिवराज नगरपालिकाले डम्पिङ गरि राखेको नदिजन्य पदार्थको अनुगमन गरेको छ । नगर प्रमुख अजय थापासहितको एक टोलीले सोमबार अनुगमन गरेको हो ।
नगरपालिका वडा नम्बर–२ हरहट्टीमा नदिजन्य पदार्थ चोरी गरि डम्पिङ गरि राखिएको अवस्थामा प्रमुख थापा सहित वडा अध्यक्ष राम बहादुर चौधरी, इन्जिनियर राम जी थापा, सूचना अधिकारी डिल्लीराज भट्टराई, राजस्व शाखा प्रमुख बिपिन खनाल, पत्रकार लगायतको टोलीले अनुगमन गरेको नगरपालिकाले जनाएको छ ।
श्याम मिश्रको निर्माणाधीन नम्किन कम्पनी परिसरमा र सुरही नदिको किनारमा सार्वजनिक जग्गामा डम्पिङ गरि राखिएको बालुवाको समेत नापजाँच गरि नगर प्रमुख थापाले कागज पत्र पेश गर्न आदेश दिएका थिए । अवैध रुपमा डम्पिङ गरिएका नदिजन्य पदार्थको कागजात पेश नभएकोले पालिकाले जफत गरि सम्बन्धितलाई कानुन बमोजिम कार्वाही अघि बढाइएको उनको भनाइ छ ।
अवैध तरिकाले चोरी निकासी गरि डम्पिङ अनुमति नलिई नदिजन्य पदार्थ राखिएको पाइएका बालुवा नगरपालिकाले जफतगरि कानुनी प्रक्रिया अगाडि बढाएको थापाले बताए ।
अवैध गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई आवश्यक कार्वाहीको प्रक्रिया अघि बढाउने कामको सुरुवात गरिएको उनले बताए । जो सुकै भए पनि चोरी निकासी गर्नेहरुलाई कार्वाही गर्ने जिकिर गर्दै यस्ता क्रियाकलाप नियन्त्रण गर्न सबैको हातेमालो जरुरी रहको नगर प्रमुख थापाले जनाए ।नगर प्रमुख अनुसार चोरी निकासी बढेकाले नगरपालिकाले ठेक्का खुलाउँदा ठेक्का नलाग्ने समस्या हुने गर्दछ । ठेक्का नलाग्दा स्थानीय रोजगारीबाट बञ्चित हुनुपरेको छ । चोरी निकासी गर्नेलाई विगतमा १० हजार जरिवाना थियो , भने यस आर्थिक बर्ष २०८०/०८१ पहिलोपटकलाई टिप्परलाई ५० हजार र जेसिवीलाई १ लाख जरिवाना गरिएको छ ।
यसैबीच वडा नं.– २ का वडा अध्यक्ष राम बहादुर चौधरीले पछिल्लो समय चारी निकासका घटना बढेकोले सूचना दिन आग्रह गरे । नदि जन्य पदार्थ संरक्षण गर्नु सबैको दायित्व रहेकोले चोरी निकासीमा संलग्न हुने जो कसैलाई नछाड्ने बताउँदै सुरक्षा निकाय कडाइ गर्नुपर्नेमा उनले जोडदिए । सार्वजनिक जग्गा डम्पिङ गरको करिब ८ टिप्पर बालुवा नगरले जफत गरेको इन्जिनियर राम जी थापाले बताए ।यसबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखरजङ्ग मल्लले जनाए ।