© २०२३
दाङ, १५ असार ।
सधैँ झोलाभरि किताब लिएर क्याम्पसमा पढ्ने जाने विद्यार्थी असार १५ मा फरक दृश्यमा देखिए । तुलसीपुरको मेट्रो कलेजका कृषि विषय पढ्ने विद्यार्थीहरु धान रोप्नका लागि हातमा धानका ब्याड लिएर खेतमा पुगेका थिए ।
तुलसीपुर १८ बकुलाहीका किसान जितबहादुर चौधरीको खेतमा उनीहरु धान रोप्न पुगेका थिए । रोप्नका लागि ठिक्क पारिएको खेतमा विद्यार्थी जब मेलो सार्नका लागि धानको ब्याड लिएर खेतमा पसे अनि जितबहादुर निकै खुसी देखिए ।
मेट्रो कलेजमा कृषि विषय पढिरहेका विद्यार्थी सन्दीप मल्लले किताबमा पढेको कुरा किसानलाई बाँडेको र किसानबाट समेत व्यवहारिक ज्ञान हासिल गरेको बताए । उनले कृषि पढ्ने विद्यार्थीले माटोलाई चिन्न सक्नुपर्ने समेत बताए ।
हिलाम्य भएर रोपाइ गरिरहेकी सोही कलेजका अर्की विद्यार्थी स्पन्दन भुषालले माटोमै टेकेर व्यवहारिक ढँगले पढ्न पाउँदा खुसी भएको बताइन् । उनले कक्षामा पढेको भन्दा व्यवहारिक रुपमा गरेको कामले राम्रो ज्ञान दिएको बताइन् । ‘हामीले कक्षामा हरेक दिन पढिरहेका हुन्छौ तर यसरी खेतमै आएर माटो टेक्दै पढ्न पाउँदा धेरै कुरा सिकेका छौं”–उनले भनिन् ।
विद्यार्थीसँगै धान रोप्न पुगेका तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले माटो चिन्ने र माटोलाई माया गर्ने व्यक्तिलाई कहिल्यै दुःख नपर्ने बताए । विद्यार्थीले कितावमा पढेको भन्दा व्यवहारिक ज्ञानबाट धेरै कुरा सिक्ने बताए । उनले कृषिलाई प्राथमिकता दिएर नीति तथा बजेटको व्यवस्थापन गरिएको बताए । अर्थ समितिका संयोजक माधव वलीले रैथाने प्रजातिका धानको उत्पादन बढाउन र बजारीकरणमा ध्यान दिन आवश्यक रहेको बताए । पछिल्लो समय रैथाने जातको धान लोप हुने अवस्थामा रहेकाले यसको संरक्षण गर्नुपर्ने बताए ।
कलेजका प्रमुख वसन्त आचार्यले कृषि पढिरहेका विद्यार्थीहरुलाई पढ्दै कमाउँदै अभियानमा सामेल गर्दै आएकोमा धान दिवसका दिन किसानसँगै जोडेको बताए । उनले विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यासका साथै अनुभवबाट तिखारिएका किसानका सीप सिकाउनका लागि खेतमा विद्यार्थीहरुलाई किसानसंगै रोप्न लागि लगेको बताए । मेट्रो कलेजमा कृषि विषय अध्ययन गर्ने विद्यार्थीहरुले रोपाईका भाग लिएका थिए ।