© २०२३
बुटवल, १५ असार ।
विद्यार्थीहरुलाई ब्यवहारिक शिक्षा दिने उद्येश्यका साथ कान्ति माविले धान रोपेर दिवस मनाएको छ । बुटवलको १६ नरेश्वर टोलमा विद्यार्थीहरुको २० औं धान दिवसमा धान रोपे । पठनपाठनसंगै अन्नबाली उत्पादनको बारेमा ज्ञान दिने गरी कार्यक्रम गरिएको विद्यालयका सहप्रधानाध्यापक पूर्णभ्रद उपाध्यायले बताए ।
बुटवल उपमहानगरपालिका वडा नं १६ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले धान रोपेर कार्यक्रमको उद्घाटन गर्दै विद्यार्थीहरुलाई कृषि संस्कृति सिकाउने गरी महत्वपूर्ण कार्यक्रम गरिएको बताए । नेपाल कृषि प्रधान देश नारामा सीमित भएको बेला विद्यालयस्तरबाट नै प्रवद्र्धनलाई जोड दिनु उत्तम कार्य भएको उनले बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश कृषि मन्त्रालयका अधिकृत खगराज पौडेल, स्थानीय समाजसेवी चूडामणि पौडेल, नरेश्वर टोल विकास संस्थाका उपाध्यक्ष कोशी सापकोटा, उज्वल यूवा क्लवका सचिव पंकज शर्मा, विद्यालयका कक्षा ६ का संयोजक नारायण सुवेदी, अतिरिक्त कृयाकलाप विभाग प्रमुख महेश खनालले विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान सिकाउन र कृषिलाई व्यवसायीकरण गराउने शिक्षा विद्यालय तहबाट गराउनु पर्नेमा जोड दिए ।
विद्यालयबाट कृषिको क्षेत्रलाई प्रोत्साहन हुने गरी व्यवहारिक सिप र ज्ञान दिनसके मात्र कृषिमा युवाको आर्कषण बढाई आर्थिक सबल हुन सकिने उनीहरुको तर्क थियो ।
विद्यालयले प्रत्येक शुक्रबार सह तथा अतिरिक्त कृयाकलापलाई प्राथमिकता दिदै विभिन्न प्रतियोगिताका साथै रचनात्मक कार्यक्रम गरिदै आएको छ ।