© २०२३
सल्यान, १४ असार ।
राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा सामुदायीक वन उपभोक्ता महासंघ सल्यानले धार्मिक क्षेत्रमा विभिन्न विरुवा रोपेको छ । विहिबार जिल्लाको कालिमाटी गाउँपालिकामा आर्थिक तथा धार्मिक महत्वका १२० विरुपा रोपिएको महासंघले जनाएको छ । कालिमाटी ३ स्थित शिव मन्दिर परिसरमा बुकाइना, रिठा, सिसौ लगायत विभिन्न धार्मिक महत्व बोकेका विरुवा र पुष्पका विरुवा रोपेर राष्ट्रिय वृक्षारोपण दिवस मनाइएको सामुदायिक वन उपभोक्ता महासंघ कालिमाटीका अध्यक्ष शसिराम वलीले जानकारी दिए ।
वृक्षारोपण गर्दै कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले जन्मदेखि मृत्यु सम्म मानव जीवनलाई सार्थक बनाउन रुख विरुवाको महत्व रहेको उल्लेख गर्दै वृक्षारोपणको अभियान चलाउनुपर्ने बताए । उनले सामाजिक, आर्थिक र वातावरणीय फाइदाका लागि खाली तथा सार्वजनिक क्षेत्रमा विरुवा रोपेर हुर्काउनुपर्ने बताए ।
यस्तै कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ सल्यानका अध्यक्ष पुरुषोत्तम भट्टराइले वनको संरक्षण, विकास र उपयोगमा जोड दिए । विरुवा रोपेर मात्र नहुने भन्दै उनले त्यसको रेखदेखसँंगै स्थानीय सरकारले हरियाली प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा ब्यक्त गरे ।
सब डिभिजन वन कार्यालय कालिमाटी, वनस्पति अनुसन्धान केन्द्र सल्यान, स्थानीय नर्सरीबाट प्राप्त विरुवा रोपण गरिएको थियो । वृक्षारोपण कार्यक्रममा कालिमाटी ३ का वडा अध्यक्ष शिव बहादुर खत्री, वन महासंघ सल्यानका सचिव अरुणा खत्री, स्थायी कमिटी सदस्य नेत्र पुन लगायतले वन नरहे मानव अस्तीत्व नै नरहने भन्दै वनको उपयोगिताको चर्चा गरेका थिए ।