© २०२३
सल्यान, १२ असार ।
सल्यान सदरमुकाम क्षेत्रका मासु पसल, एग्रोभेट तथा डेरी पसलहरु मापदण्ड विपरित संचालममा रहेको पाइएको छ । जिल्लाको शारदा नगरपालिकाले आफ्नो क्षेत्र भित्र पर्ने ती पसलहरुको अनुगमन गर्दा यस्तो पाइएको हो ।
अनुगमनका क्रममा अधिकांश मासु पसल फोहोर र दुर्गन्धित रहेको, ढक तराजू व्यवस्थित नगरेको, मूल्यसूची नराखेको पाइएको, एग्रोभेट पसलमा म्याद गुज्रिएको औषधी रहेको, डेरी पसलहरुमा केक बनाउने समान म्याद गएको भेटिएको नगरपालिकाको पशु विकास शाखाले जनाएको छ । नगर उपप्रमुख सुस्मिता सापकोटा सुनारको संयोजकत्वमा मासु पसल, डेरी र एग्रोभेट पसलहरुको अनगुगमन गरिएको हो । शारदा नगरपालिकाको वडा नम्बर २, ३, ४ र ५ मा अनुगमन गरिएको पशु सेवा शाखा प्रमुख मधुसुधन उपाध्यायले जानकारी दिए ।
उनका अनुसार ८ वटा मासु पसल, २ एग्रोभेट पसल र एक वटा डेरीको अनुगमन गरिएको हो । अनुगमनको क्रममा म्याद गुज्रिएका सामान बरामद गरि ८ हजार बराबरको सामान नष्ट गरिएको उपाध्यायले बताए । अनुगमनमा जिल्ला प्रशासन कार्यलय, पशु अस्पताल तथा पशु सेवा कार्यलय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यलयका प्रमुख तथा प्रतिनिधि पत्रकार लगायतको उपस्थिती रहेको थियो ।